भैरवनाथको रथमा क्षति



भक्तपुर : सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्केट जात्राका लागि बनाइएको भैरवनाथको रथ क्षतिग्रस्त भएको छ । मानिसको चाप र आसपासका घरमा ठोक्किँदा तीनतले रथको बीच भाग र गजुरमा क्षति पुगेको छ । तौमढी दरबार क्षेत्रको भैरवनाथ मन्दिर अगाडि निर्माण भएको प्यागोडा शैलीको रथलाई जात्रालुले ‘होस्टे..हैँसे..हाहाहा’ भन्दै दरबार क्षेत्रको तल्लो र माथिल्लो टोलसम्म परिक्रमा गराएका थिए । 

पहिलो दिन बुधबार साँझबाट राति एक बजेसम्म जात्रालुले रथ गुडाएका थिए । बजार परिक्रमापछि पहिलो दिन नै रथ गःहिटीमा लगेर स्थगन गर्ने चलन भए पनि क्षतिग्रस्त भएपछि बिहीबार बिहान मात्रै पु¥याइएको छ । रथका तलैपिच्छे मानिसहरू झुन्डिने, बस्ने र अघिपछि दुवैतिरबाट तान्ने भएकाले खाल्डाखुल्डी भएको सडकमा गुडाउने क्रममा आसपासमा घरमा ठोक्किएर क्षति पुगेको गुठी संस्थानका प्रमुख हरि सुवेदीले बताए ।  

रथ तान्ने तीनजना घाइते

पहिलो दिनको रथ तान्ने क्रममा तीनजना घाइते भएका छन् । रथ तान्ने क्रममा तीनजना जात्रालु सामान्य घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी विश्वमणि पोखरेलले बताए । घाइतेहरू सामान्य उपचारपछि घर फर्किएको उनले जानकारी दिए ।

जात्रा भने शान्तिपूर्ण रूपमा चलिरहेको उनले बताए । ‘रथ तान्ने क्रममा विगतमा झडप हुने, ढुंगा हान्नेजस्ता गतिविधि हुन्थे, यसपटक शान्तिपूर्ण रूपमा रथ तानियो,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्