भूकम्पले ध्वस्त पारेको रजगाउँमा पूर्वाधारबिना नमुना बस्ती



रामेछाप : भूकम्पले ध्वस्त पारेको रामेछापको रजगाउँ फेरि गुजुमुज्ज बस्ती बनेको छ । आगलागी र अन्य विपदा हिसाबले पहिलेको जस्तै असुरक्षित नै हुने गरी बस्ती ठडिएको हो ।

तामाकोसीको किनारमा बलौटे माटोमा बनेका सबै घर माझी समुदायका हुन् । जग्गा मिलाउन नसक्दा पहिलेकै स्वरूपमा यता र उता फर्किएका घर बनाउनुपरेको स्थानीय मंगली माझी बताउँछिन् । ‘जग्गा मिलाउन जानेको भए हाम्रो पनि रहर लाग्दो हुन्थ्यो होला । कसले गरिदिने ?’ उनी भन्छिन्, ‘आफ्नो जहाँ थियो, त्यहीं घर बनाइयो ।’

रजगाउँ माझीबस्तीमा झन्डै ३५ परिवारको बसोबास छ । सबैका घर जोडिएका छन् । भएको जग्गालाई मिलाउन सकेको भए एकै लाइनमा राम्रो बस्ती बनाउन सक्ने अवसरबाट चुकेको अनुभव अहिले आएर भएको छ । उक्त वडामा भूकम्पपछिको पुनर्निर्माणको काममा खटेका प्राविधिक रामकुमार श्रेष्ठ भन्छन्, ‘प्राविधिक जानुभन्दा अघि डीपीसी गरिसकेकोले मिलेको नमुना बस्ती देखाउन सकेनौं ।’

‘पुनर्निर्माण अवसर पनि थियो । रजगाउँमा भूकम्पअघिका घर कुनै सद्धे थिएनन् । त्यसैले त्यही जग्गामै घर बनाउँदा नमुना बनाउन सक्ने आधार प्राविधिक रूपमा बनेको थियो । चेत नखुल्दा फेरि पनि उस्तै घुमाउरो गल्लीबाट घुम्नुपर्ने भयो,’ स्थानीय काले माझीले भने ।

रजगाउँलाई २०४५ सालको भूकम्पले पनि नराम्ररी लडायो । त्यतिबेला रामेछापमा सबैभन्दा बढी क्षति रामेछाप बजार र रजगाउँलाई पुगेको थियो । दुवै स्थानमा स्वर्गीय राजा वीरेन्द्र निरीक्षणमा पुगेका थिए । राजा आएपछि रजगाउँमा राहत त पुग्यो तर सुरक्षित आवास बनाउने चेत पुगेन । २०७२ सालको भूकम्पले ती सबै संरचना लग्यो ।

२०७२ पछि निजी आवास पुनर्निर्माणका लागि सरकारले अनुदान र प्राविधिक सहयोग दियो । प्राविधिकले मिलाउन सक्ने कैयौं कुरा मिलेनन् । सामान्यतः एउटा घरले एक पुस्ता जान्छ । तर रजगाउँमा एकै पुस्ताले ३ वटासम्म घर बनाउने बाध्यता आइपर्‍यो ।

‘जीवनभर घरै बनाएर बित्यो,’ माझी भन्छन्, ‘एकचोटि बनाएको घरको ऋण नतिर्दै अर्को बनाउनुपर्ने बाध्यता परेको छ । बलियो संरचना नबन्दा भूकम्पजस्ता प्राकृतिक विपत्तिले रजगाउँलाई गाँझ्दै लगेको छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्