टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



नुवाकोट : टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ । बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए । 

प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६ नम्बरको मोटरसाइकल चालक २३ वर्षीय खनालको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार मुन्ना गुप्ता सामान्य घाइते भएका छन् । 

दुर्घटनापश्चात आक्रोशित स्थानीयवासीले ठक्कर दिने बा५ख २८९८ नंको टिपरमा आगजनी गरेर क्षति पुर्‍याइदिएका छन् । दोषी चालकलाई कडा कारवाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले बट्टारबजार–गङ्गटे सडकखण्ड अवरुद्ध बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्