बालिकाको बलात्कार प्रयासपछि हत्या गर्ने प्रयास



जनकपुरधाम : सर्लाहीमा एक बालिकाको बलात्कार प्रयासपछि हत्या गर्ने प्रयास भएको छ ।

शुक्रबार दिउँसो जिल्लाको पर्सा गाउँपालिका– ५ कि १० वर्षीया बालिकालाई भारतीय युवकले बलात्कारको प्रयास गरेका थिए । तर, बालिकाले प्रतिकार गरेपछि घाँटी रेटेर हत्याको प्रयास गरेको पीडित परिवारले बताएको छ ।

खेतमा घाँस काटिरहेका बेला भारतको सितामढी घर भएका २७ वर्षीय मुकेश मुखियाले बालिका माथि बलात्कारको प्रयास गरेका हुन् । सोही क्रममा मोटरसाइकलमा आइरहेका एक युवकले उनको उद्धार गरेको वडा अध्यक्ष उमेश यादवले बताए ।

‘शुरुमा तिम्रो घर कहाँ छ, कसको छोरी हौ, कति जना दिदी बहिनी र दाजुभाइ छौं ? भनेर ती युवकले बालिकासँग सोधे’ वडा अध्यक्ष यादवले भने, ‘त्यसपछि बालिकाको मुख थुन्दै लछार पछार गरेर जर्वजस्ती करणी गर्न खोजेका थिए ।’

तर, बालिका चिच्याउन खोज्दा उनकै हँसिया लिएर उनको हातको बुढी औंला, मुख काट्दै घाँटी पनि रेट्न खोजेको वडा अध्यक्ष यादवले बताए । घाँटी रेट्न खोजेकै समयमा धनकौलतर्फ जाँदै गरेका एक जना मोटरसाइकल चालकलले बालिका चिच्याएको सुनेर घटनास्थल पुगी बालिकाको उद्धार गरेको उनले बताए ।

ती मोटरसाइकल चालकले नै बालिकाको उद्धार गरी उपचारका लागि अस्पताल पु¥याएका थिए । बालिकाको घाँटीमा ७ वटा र औंलामा तीन वटा टाँका लगाउनुपरेको वडा अध्यक्ष यादवले जानकारी दिए ।

घटनामा संलग्न युवक मुकेश मुखियालाई समातेर स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् भने उनीविरुद्ध करणीसम्बन्धी कसूरमा अनुसन्धान शुरु गरिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

प्रकाशित : कात्तिक १६, २०७७

प्रतिक्रिया दिनुहोस्