ढलान गरेको दुई दिनमै भत्कियो पुल



गुल्मी : जिल्लाको वढीगाढ खोलामा निमार्णधिन पक्की पुल ढलान गरेको २ दिनमै भत्किएको छ। मुसिकोट नगरपालिका वडा नं ३ वडागाउँ र वडा नं ७ वामी जोड्ने झेदीको पुल ढलान गरेको २ दिन बित्न नपाउँदै भत्किएको हो। पुल गएको शुक्रबार ढलान गरिएको थियो।

पुल निर्माणको जिम्मा तत्कालिन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पाएको थियो। ढलान गरेको दुई दिनमै पुल भत्किएपछि निमार्ण कम्पनीसगँ नै स्थानीयले आशंका व्यक्त गरेका छन्।

बीचमा पिल्लरनै नभएको ५५ मिटरको आधुनिक पुल २०७३ सालमा सम्झाैंता भएपछि ०७४ बाट निर्माण थालिएको तत्कालिन जिल्ला प्राविधिक कार्यालयका इन्जिनियीर पारस पन्थीले बताए। अहिले त्यो पुल प्रदेश नं ५ अन्तर्गतको भौतिक पुर्वाधार विकास कार्यालय गुल्मी मातहत रहेको छ।

भौतिक पूर्वाधार विकास कार्यालय गुल्मीका कार्यालय प्रमुख बिनोद चौधरीले ढलान गर्दा पुलमा लगाइएका टेकाहरू भासिएका कारण पुल भत्किएको हुन सक्ने अनुमान गरेका छन्। चौधरीले स्थलगत अनुगमन गरेपछि मात्रै पुल कसरी भाचिएको हो भन्ने जानकारी हुने बताए।

पुलको लागत करिब पाँच करोडभन्दा बढी रहेको भौतिक पूर्वाधार कार्यालय गुल्मीले जनाएको छ। कच्ची संरचनाको कारण पुल भत्किएको भन्दै स्थानीय आक्रोसित भएका छन्।

मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले सरकारी निकायको बिडम्बनाका कारण यो समस्या आएको बताए। त्यस्तै स्थानीय लोकप्रसाद छन्तेलले निर्माण व्यावसायीको हेलचेक्राई र सरकारी कार्यालयको प्रभावकारी अनुगमन नहुँदा पुल भत्किएको बताए। बडिगाढ खोलाको झेदीमा निमार्ण भइरहेको पुल भत्किदा पाँच जना घाइते भएका छन्। 

प्रतिक्रिया दिनुहोस्