कालीगण्डकी करिडोरमा पहिरोले पुरिएर पाँच मजदुरको मृत्यु



नवलपुर : कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पाँच जना मजदुरको पहिरोले पुरिएर बुधबार मृत्यु भएको छ । 

 पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–३ सखुवा भन्ने स्थानमा दिउँसो ५ बजे सडक खन्ने क्रममा आएको सुख्खा पहिरोमा परी उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । 

‘सडक निर्माणका क्रममा ७ जना मजदुरले जालीमा ढुंगा भर्दै थिए’, तामाङले भने, ‘त्यस क्रममा आएको पहिरोमा परेका २ जनालाई प्रहरी र स्थानीयले उद्दार गरे । अन्य ५ जना पहिरोमा परे ।’ 

गैंडाकोटदेखी राम्दीसम्म १ सय ३० किलोमिटर सडक निर्माण हुँदैछ । त्यस क्रममा खटिएका स्थानीयको पहिरोमा परेर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए । 

 पहिरोमा परी मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुनबहादुर पुलामी, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी र २९ वर्षीय तुलबहादुर सारु रहेको प्रहरीले जनाएको छ । उनीहरु सबै बुलिङटार–४ का हुन ।  अन्नपूर्ण पोष्ट दैनिकमा हरि शर्माले लेखेका छन् ।

प्रकाशित : कात्तिक २०, २०७७

प्रतिक्रिया दिनुहोस्