भारतको विहारमा निर्वाचन : जोगबनीसहित सीमा क्षेत्रमा आवतजावत बन्द



मोरङ : भारतको विहारमा भोली (शनिबार) हुने निर्वाचनका कारण विराटनगर जोगबनीसहित सीमा क्षेत्रमा आवातजावत बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार विधानसभा सदस्यको तेस्रो चरणको निर्वाचनलाई लक्षित गरी सीमामा सुरक्षा अवस्था कडा गरिएको हो ।

आवातजावतमा कडाई गर्दै उच्च सतर्कता अपनाइएको उनले बताए । मोरंगसँग विहारको अररीया जिल्लामा पनि निर्वाचन हुने भएपछि शुक्रबारबाट नेपालतर्फ उच्च सतर्कता अपनाइएको छ । निर्वाचनका बेला घुसपैठ र अपराधिक घटना हुन नदिन र सहज आवतजावत गर्न सीमा क्षेत्रमा निगरानी बढाएर सुरक्षा कडाई गरिएको खड्काले बताए ।

भारतका सुरक्षा निकायले पटक पटक निर्वाचनका समयमा सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गर्न आग्रह गर्दै आएका छन् । हाल नेपालतर्फको भूभागमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षा प्रदान गरिरहेको छ । भारततर्फ भारतीय सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ ।

निर्वाचन नसकिएसम्म भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रलाई नेपाली सुरक्षाकर्मीको उच्च निगरानीमा रहने प्रहरीको भनाइ छ । विहारको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाउन र सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन प्रदेश १ का नेपाल प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्की र सशस्त्र प्रहरी प्रमुख डीआईजी वंशीराज दाहालले निर्देशन दिएका छन् ।

भारततर्फबाट शुक्रबार दिउँसोदेखि मालबहाक सवारीसाधन रोकिएका छन् । नेपालबाट पनि खाली वा लोड भएका मालबहाक सवारी साधन नेपालतर्फको सडक र आइसीपीमै रोकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित :२१ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्