लिखित पत्र बोकेर बालुवाटार पुगे प्रचण्डसहित पाँच शीर्ष नेता



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेता बालुवाटार पुगेका छन् ।

शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लिखित पत्रसहित बालुवाटार पुगेका हुन् ।

अनौपचारिक बैठकमा प्रचण्डले सहभागी नेताहरूलाई पार्टी फुटको गम्भीर दुर्घटनातिर जाने सम्भावना देखिएकै कारण ओलीसँगको समझदारीमै अनौपचारिक बैठक गर्नुपर्ने अवस्था आएको जानकारी गराएपछि बैठकले एकता जोगाउनका लागि प्रधानमन्त्रीलाई सामूहिक रूपमा भेटेरै बैठकका लागि अनुरोध गर्ने निष्कर्ष निकालेको थियो ।

शुक्रबारको निर्णयअनुसार शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग पार्टीमा उत्पन्न संकटबारे छलफल गरेका थिए ।

अनौपचारिक बैठकपछि ओलीलाई बैठकका लागि मनाउन लिखित पत्रसहित भेट्न उनीहरु बालुवाटार पुगेका हुन् ।

प्रकाशित : कात्तिक २२, २०७७

प्रतिक्रिया दिनुहोस्