ओली र प्रचण्ड–माधव पक्षको आगामी कदम



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष पाँच नेता र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीबीच चर्काचर्की भयो ।

शुक्रबार र शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको अनौपचारिक सचिवालय बैठकको औपचारिक निर्णय पार्टीको लेटर प्याडमा लेखेरै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार दिउँसो बुझाउन गएका कार्यकारी अध्यक्षसहित वरिष्ठ नेताद्वय, उपाध्यक्ष र प्रवक्तावीच चर्काचर्की परेको हो ।

बैठक राखेर समग्र बिषयमा छलफल गर्ने र कुनै हालतमा बैठक नबोलाउने विषयमा दुई पक्षबीच राम्रैसँग चर्काचर्की परेको थियो ।

भेटघाटको करिब ४५ मीनेटसम्म बैठक बोलाउनेसम्बन्धमा चर्काचर्की परेको थियो । प्रधानमन्त्रीको अडान थियो ‘बैठक कुनै हालतमा राखिँदैन । बहुमतको निर्णय पनि मानिँदैन । किन मान्ने मैले निर्णय ?’

सरकारको काम कारबाहीबारे नेतृत्वले कुनै प्रतिक्रिया नै जनाउन नपाउने प्रधानमन्त्रीको अडान सुनेपछि सचिवालय सदस्यहरू ‘सरकार चलाउन सहमति नचाहिने,पार्टी चलाउन मात्रै सहमति चाहिने ? प्रधानमन्त्री तथा अध्यक्षको यस्तो दोहोरो मापदण्डबारे गतिलैसँग छलफल हुनुपर्ने’ निश्कर्षमा पुगेको बताइन्छ ।

पार्टी र सरकार सञ्चालनको सम्बन्धमा केही समयअघि गरिएको सहमतिमा पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने तर,बैठक बोलाइए या औपचारिक रूपमा कुनै निर्णय लिए पार्टी फुटको सुरुवाती विन्दु त्यहि हुने भनी दिइएको चेतावनीलाई अर्को पक्षले गम्भीरतापूर्वक लिएको देखिन्छ ।

माधव नेपाल प्रधानमन्त्रीसँग जति बिच्किएका छन्, त्यति नै आगामी राजनीतिक कोर्स कता जान्छ भनेर संशयी पनि । एउटा कुरा भने प्रष्ट छ, आज ओलीलाई दुईपाने चिठी बुझाएर फर्किसकेपछि अब इतर पक्ष धुम्बाराहीमा दुवै कमिटीको बैठक डाक्ने तयारीमा छ ।

त्यो बैठकभन्दा ओलीले चाल्न सक्ने सम्भावित कदमको लेखाजोखा प्रचण्ड–माधव पक्षले गरिसकेको छ ।

स्रोतका अनुसार सचिवालयका बहुमत सदस्यहरूको आजको प्रयास पार्टी एकतालाई जोगाउन र हालको समस्या समाधानका लागि गरिएको अधिकतम प्रयत्न थियो ।

अबको केही दिनसम्म प्रधानमन्त्रीको क्रिया र प्रतिक्रियालाई पर्ख र हेरको रुपमा बस्ने मुडमा बहुमत नेताहरू देखिन्छन् । तर,बालुवाटार सकेसम्म उक्त निर्णयलाई बेवास्ता गर्ने,नसके बैठक आयोजनाबाट तर्किने रणनीतिमा रहेको बताइन्छ ।

बहुमत सदस्यहरू पार्टी फुटको दोष आफूहरूमा नआओस् भनेर नै बैठक बैठक भन्दै अधिकतम आग्रहमा लागेपनि उक्त प्रयासलाई प्रधानमन्त्री र बालुवाटार निकटस्थहरूले भने अझैपनि आफूहरूको सामुन्ने उनीहरूको कमजोरी,लम्पसारवाद र द्यौसी भैलोको रूपमा लिएको बताइन्छ ।

लिखित पत्रमा के छ ?

लिखित पत्रमा प्रधानमन्त्री ओलीमा व्यक्तिवाद हाबी भएको, स्थायी कमिटीका निर्णयलाई निरन्तर उल्लंघन गरेको, प्रधानमन्त्रीकै कारण कर्णाली प्रदेशमा समस्या उत्पन्न भएको, कोभिड– १९ महामारी नियन्त्रण गर्न नसकेको, पर्सामा पार्टी कार्यकर्ता हत्या हुँदा गुटगत संरक्षण गरेकोलगायत आरोप छन् ।

त्यस्तै, पत्रमा ओलीले पार्टी नेताहरूलाई समेत अपमान गर्ने शब्द प्रयोग गर्दै आएका विषय उठाइएको छ ।

तर, प्रधानमन्त्रीनिकट एक नेताले लिखित पत्रमा सहमति र एकतामा जोड दिनेभन्दा पनि प्रधानमन्त्रीले केन्द्रीय सदस्यलाई सडकछाप, स्थायी कमिटी सदस्यलाई हुल्डजबाज भन्यो भन्ने अरोप लगाएर घृणा र द्वेष फैलाउने, परिस्थितिलाई थप उत्तेजित बनाएर पार्टीलाई विभाजनतर्फ धकेल्न खोजेको आरोप लगाए ।

‘पत्रमा उठाइएको विषय हेर्दा उहाँहरूले घृणा र द्वेष फैलाएर परिस्थितिलाई झन् उत्तेजित बनाएर पार्टीलाई विभाजनतर्फ नै लैजान खोजेको हो कि भन्ने प्रशस्तै आधार देखिएका छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्