दाजुभाइको कोरोना संक्रमणबाट मृत्यु



विराटनगर : मोरङमा कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु भएको छ । केराबारी गाउँपालिका–३ मा ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको छ ।

केराबारी गाउँपालिका-३ का ५९ वर्षीय पुरूषको आइतबार र उनको ५७ वर्षीय भाइको १८ कार्तिकमा मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भाइको मृत्युले शोकमा डुबेको परिवारमा दाजुको मृत्युपछि थप शोक थपिएको छ ।

आइतबार मृत्यु भएका ५९ वर्षीय पुरूषलाई ७ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । दसैंको टीकाको दिनयता उनी अस्पतालमा थिए । उपचारका क्रममा आइतबार बिहान करिब ९ बजे विराट मेडिकल कलेजमा उनको मृत्यु भएको हो ।

उनलाई सुरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा बेड खाली नभएपछि विराटमा भर्ना भएका थिए ।

मृतकका ५७ वर्षीय भाइमा भने ५ कार्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । कोरोना संक्रमणका कारण मृत्यु भएका उनी शिक्षक हुन् । उनी पालिका स्तरीय कोभिड १९ नियन्त्रण समिति सदस्य थिए ।

केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीका अनुसार मृतक ५९ वर्षीय पुरूष २०५४ सालमा तत्कालिन केराबारी गाबिस-४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी समाजसेवामा सक्रिय थिए । एकै परिवारका उनीहरू कोरोनाले ६ दिनको अन्तरमा बितेका हुन् ।

प्रकाशित :२४ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्