विश्वकपको ट्रफी नेपालमा



काठमाडौं : अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइएको छ।। ट्रफी शुक्रबार साँझ काठमाडौं ल्याइएको हो। स्वयम्भूमा  ट्रफी सार्वजनिक गरिएकाे हाे ।

 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याइएको यो पहिलो पटक हो। 

 

फुटबल विश्वकपको ट्रफी भने यसअघि नेपालमा आइसकेको छ। सन् २०१४ मा ब्राजिलमा फिफा विश्वकप सुरु हुनुअघि सो ट्रफी ल्याइएको थियो। आईसीसी विश्वकपको १२औं संस्करण सन् २०१९ को मे ३० देखि जुलाई १४ सम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ।

 

विश्वकप सुरु हुनुअघि विश्वव्यापी रूपमा क्रिकेटको लोकप्रियता बढाउने उद्देश्यले आईसीसीले पाँचवटै महादेशमा ट्रफी टुर गराएको हो। आईसीसीले ट्रफीलाई २१ राष्ट्रका ६० भन्दा बढी सहरमा पुर्‍याउने योजना छ।

 

ट्रफी टुर आईसीसीको दुबईस्थित मुख्यालयबाट अगस्ट २७ बाट सुरु गरिएको हो। नौ महिना लामो भ्रमणमा सुरुका ६ महिना ट्रफीलाई विभिन्न राष्ट्रमा पुर्‍याइने छ भने बाँकी तीन महिना इङ्ल्यान्डकै सहरको परिक्रमा गराइने छ।

 

ट्रफीलाई हालसम्म ओमन, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश गरी ६ राष्ट्रको भ्रमण गराइसकिएको छ। विश्वकप ट्रफी बंगलादेश हुँदै सातौं राष्ट्रका रूपमा नेपाल ल्याइएको हो।

 

ट्रफी नेपालबाट भारत लगिने छ। भारतपछि न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स र जर्मनी हुँदै आगामी फेब्रुअरी १९ तारिखमा विश्वकप आयोजनास्थल इङ्ल्यान्ड र वेल्स लगिने आईसीसीले जनाएको छ।

 

नेपाल भ्रमणका क्रममा ट्रफीलाई काठमाडौंसहित पोखरा पनि लगिने छ। आईसीसीले सम्भव भएसम्म ट्रफीलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म पुर्‍याउने योजना बनाएको छ। 

 

यसको अन्तिम टुंगो हुने भने बाँकी छ। काठमाडौंमा ट्रफीलाई वसन्तपुर दरबार स्क्वायर र नारायणहिटी दरबार आगाडि राख्ने तयारी छ।आईसीसीले द्रुत गतिमा क्रिकेटको विकास भइरहेका नेपालसहित ११ राष्ट्रमा पहिलो पटक विश्वकप ट्रफी टुर गराउन लागेको हो।

 

आगामी आईसीसी विश्वकपमा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इन्डिज, न्युजिल्यान्ड, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान गरी १० वटा राष्ट्रको सहभागिता रहने छ।

प्रतिक्रिया दिनुहोस्