सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी हुनुहुन्छ : खनाल



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले शुक्रबार बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने दाबी गरेका छन् ।

महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । नेकपामा सचिवालय बैठक अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ ।

सोहि सचिवालय बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी हुने वरिष्ठ नेता खनालको दाबी छ ।

‘पार्टीका दुई अध्यक्षकै सल्लाहमा शुक्रबार ४ बजे औपचारिक सचिवालय बैठक बोलाइएको छ,’ खनालले भने, ‘सचिवालय बैठकमा प्रधानमन्त्रीज्यू पनि उपस्थित हुनुहुनेछ । त्यहाँ सबै सचिवालय सदस्य उपस्थित भई छलफल गर्छौं ।’

यसअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित बहुमत सचिवालय सदस्यले बैठक बोलाउन बारम्बार आह्वान गरेका थिए । तर, ओलीले सचिवालय बैठक बोलाउन आकाकानी गरेपछि २ पटक बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बसेको थियो । गत कात्तिक १४ गते र १८ गते गरि २ पटक बसेको बैठकले ओलीलाई अल्टिमेटम दिएर बैठक राख्न दबाब दिएको थियो । तर, यसपटक ओली बिहीबार दिइएको अल्टिमेटमलाई एक दिन पर धकेलेर शुक्रबार सचिवालय बैठक बोलाउन सहमत भएका छन् ।

सचिवालय बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव, मन्त्रिपरिषद् पुनर्गठन, पर्साका मुकेश चौरसिया हत्या र प्रधानमन्त्रीले भारतीय गुप्तचर प्रमुखलाई भेटेको विषयमा छलफल हुने बुझिएको छ ।

प्रकाशित : कात्तिक २७, २०७७

प्रतिक्रिया दिनुहोस्