‘नेकपाको सरकार संघीयता स्थापित होस् भन्ने पक्षमा छैन’



नेपाली काँग्रेस धनुषाका पुराना नेताका रुपमा परिचित रामसरोज यादव प्रदेश २ को प्रदेशसभा सदस्य हुनुहुन्छ । प्रदेशसभामा प्रतिपक्षी दल काँग्रेसको संसदीय दलका नेतासमेत रहनुभएका यादव स्पष्ट वक्ताको रुपमा चिनिनुहुन्छ । प्रदेश सरकारको राम्रा कामको समर्थन र नराम्रा कामको कडा आलोचना गर्नुहुने यादवसँग प्रदेश २, प्रदेश सरकार, विकास निर्माण, संघीय सरकार र विभिन्न समसामयिक राजनीतिक अवस्थाका बारेमा द नेपालटपकी संवाददाता आशा साहले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ नेता यादवसँग गरिएको कुराकानीको प्रमुख अंश

प्रदेश २ को अवस्था कस्तो छ ? कोरोना संक्रमणको अवस्था भयावह नै छ त प्रदेशमा ?
– सात वटै प्रदेशभन्दा सबैभन्दा बढी कोरोनाबाट प्रदेश २ संक्रमित छ । मृत्यु दर पनि अरु प्रदेशभन्दा बढी काठमाडौँमा छ र त्यसपछि प्रदेश २ मा । यसो हेर्दा अहिले प्रदेश २ को अवस्था भयावह बन्दै गइरहेको छ ।

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि कस्तो भूमिका निर्वाह गरेको छ ?
– कोरोना नियन्त्रणको लागि सरकारले अपेक्षित भूमिका निर्वाह गरिरहेको छैन । प्रदेश सरकारले जुन रुपमा व्यवस्थापन गर्नुपर्ने हो त्यस किसिमले व्यवस्थापन गर्न सकेको छैन । किन भने प्रदेश २ मा खुला सीमा छ । बिहारमा कोरोना संक्रमणको अवस्था भयावह छ । सीमा भन्नलाई मात्र सिल गरेको हो । तर, सीमाबाट आवतजावत रोकिएको छैन । अहिले पनि सीमावर्ति हरेक नाकाबाट लागूऔषध ओसारपसार हुन्छ, बिनापरीक्षण आवतजावत हुन्छ । त्यसले गर्दा भारको बिहारबाट कोरोना संक्रमण प्रदेश २ तिर सरेको छ । समुदाय स्तरमा गइसकेपछि सरकारले कन्ट्याक ट्रेसिङ गरेर त्यसअनुसारको पीसीआर टेस्ट गर्नुपर्ने थियो । तर, प्रदेशमा पीसीआर परीक्षण सोचेअनुसार भएको छैन । जति हुनुपर्ने थियो त्यसको एक चौथाइ पनि भएको छैन । पीसीआरको रिपोर्ट दुई–तीन घण्टामा आउने हो भने बिरामीको उपचारको लागि सजिलो हुन्छ । तर, सात दिनमा रिपोर्ट आउँछ भने त्यस व्यक्तिलाई कहाँ राख्ने । कोरोना छ भने आइसोलेसनमा राख्ने कि होम आइसोलेसनमा राख्ने । यहाँ भेन्टिलेटरको कमी छ । सरकारसँग हामीले प्रतिपक्षको नाताले भेन्टिलेटरको संख्या बढाउन माग गर्यौ । शुरुमा ५० वटा खरिद गर्ने कुरा भयो । तर, पछि दुई सय भेन्टिलेटर खरिद गर्ने कुरा आएको थियो, त्यो पनि हुन सकेन । प्रत्येक जिल्लामा पीसीआर मेसिन राख्यौँ भने परीक्षण तीव्र गतिमा हुन्छ । परीक्षण भएपछि संक्रमित बिरामी कति छ र त्यसको व्यवस्था कसरी गर्ने भन्ने कुरामा सरकार कानमा तेल हालेर सुतेको छ ।

यस हिसाबले प्रदेश सरकार जनताप्रति असम्वेदनशील, जनताप्रति अनुत्तरदायी छ । बजेटको ३–४ प्रतिशत पनि खर्च हुन सकेको छैन । सरकारले लगानी गर्न सक्छ, पीसीआर मेसिन खरिद गर्न सक्छ, भेन्टिलेटर खरिद गर्न सक्छ । अझ काहालीलाग्दो कुरा के छ भने प्रदेश सरकारले जनकपुर अस्पताललाई कोरोना अस्पतालमा रुपान्तरण गरेको छ । तर, अन्य रोगीहरुको उपचार नै हुँदैन । तसर्थ कोरोना संक्रमितबाट भन्दा अन्य रोगबाट ज्यान गुमाउनेको संख्या बढी छ । सरकारले कोरोना संक्रमितको उपचारको लागि छुट्टै अस्पताल र अन्य बिरामीको लागि छुट्टै अस्पतालको व्यवस्था गर्नुपर्थ्यो । जानकी मेडिकल कलेजको अस्पताललाई दुई महिनादेखि अन्य बिरामीको उपचारका लागि व्यवस्था गर्छु भनिएको थियो । तर, त्यो अहिलेसम्म हुन सकेको छैन । त्यसैले कोरोना नियन्त्रणका बारेमा समग्र विश्लेषण गर्दा प्रदेश सरकार निकम्मा, कुनै काम गर्न नसक्ने, व्यवस्थापन गर्न नसक्ने सरकार हो ।

प्रदेशमा विकास निर्माणको अवस्था कस्तो छ ? प्रदेश सरकारको मूल्यांकन तपाईले कसरी गर्नुहुन्छ ?
– चौथो बजेट पारित भएको छ । म चुनौति दिएर भन्छु–एउटा औला ठड्याएर भन्ने खालको कुनै पनि योजना र कुनै विकासको काम भएको छैन । प्रदेश सरकारले खाली बजेटलाई भुजा जस्तो वितरण गरेर आफ्नै कार्यकर्ताका उपभोक्ता समिति बनाउने, अग्रिम रुपमा पैसा लिने, ठेकेदारहरुलाई काम दिने, अग्रिम २०–२५ प्रतिशत कमिशन लिने गरिएको छ । जहाँ घुस खान्छ त्यहाँ विकासको कुरा गर्नु व्यर्थ होला । बहुमतका आधारमा बजेट पारित गर्यौं । सरकारको पक्षमा मत दियौ । पारित गर्यौ । तर, सरकारले कुनै पनि विकासको क्षेत्रमा देखिने गरी काम गर्न सकेको छैन । प्रदेशमा विकास, शान्ति सुरक्षा, कोरोना महामारी, महिला हिंसा, बलात्कार, चोरी जस्ता घटना न्यूनीकरण गर्नेतर्फ सरकारको ध्यान गएको छैन ।

प्रदेश सरकारले विकासको गति तीव्र बनाएको दावी सरकारका प्रतिनिधिहरुको छ नि ?
– दावी गरेर मात्र हुन्छ । प्रतिपक्ष र मिडिया जहिले पनि एक ठाउँमा हुन्छ । जति हामी बलियो छौ त्योभन्दा बढी मिडिया बलियो हुन्छ । एक चोटी यहाँको मुख्यमन्त्री, मन्त्रीलाई मिडियाले सोध्नुपर्यो नि ? कहाँ कुन काम गरेको छ ? अहिलेसम्म प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर डबल लाइनको सडक बनाउने बजेटमा आएको छ । यो सडक बनाउन १२–१३ करोड चाहिन्छ । तर, कही एक करोड, कही सवा करोड बजेट निर्वाचन क्षेत्रमा दिइएको छ भने मन्त्री भनेको ठाउँमा बढी बजेट विनियोजन गरिएको छ । यद्यपि यो योजना यो सरकार रहुन्जेल पूरा हुँदैन ।

संघीय सरकारले सहयोग गरेनन् भनेर प्रदेश सरकारका प्रतिनिधिहरुले आरोप लगाइरहेका छन् नि ?
– यो कुरामा म सहमत छु । प्रतिपक्ष हुने बित्तिकै सरकारको हरेक कुराको विरोध गर्न जरुरी छैन । जुन कुरा सही छ त्यो कुरामा म साथ दिन्छु । सचिव दुई–चार महिनामा फेरिदिने, समयमा मुख्यसचिव–सचिव नपठाउने, कर्मचारीको अभाव छ । एउटा कुरा पक्का छ, अहिलेको नेकपा सरकार कुनै हालतमा संघीयता स्थापित होस् भन्ने पक्षमा छैन । प्रदेश २ यस्तो प्रदेश हो, जहाँबाट संघीयताको आन्दोलन, संघीय प्रणालीको आन्दोलन भएको थियो । यसमा आम मधेशी जनता सडकमा आए र संघीयता स्थापित भयो ।

केन्द्र सरकारले प्रदेश सरकारलाई हरेक किसिमले बाधा पुर्याउँदै आएको छ । तर, प्रदेशसँग जे–जति बजेट छ त्यसलाई आफ्नो क्षमता अनुसार प्रतिपक्षलाई सहमतिमा लिएर विकासको काम अगाडि बढाउनुपर्ने थियो । त्यसमा प्रदेश सरकार चुकेको छ । एकातिर केन्द्रको सरकार चाहन्छ संघीयता खतम होस्, अर्को तिर प्रदेश सरकार भ्रष्टाचार र अनियमितता गर्न व्यस्त छ । तसर्थ केन्द्र सरकारको संघीयता खतम होस् भन्ने मनसायलाई प्रदेश सरकारले मद्दत गरिरहेको छ ।

प्रदेशमा नेपाली काँग्रेसको अवस्था कस्तो छ ?
– प्रदेशमा सबैभन्दा सानो पार्टी हो काँग्रेस । हाम्रो आन्तरिक व्यवस्थापन कमजोर भएको कारण काँग्रेस चौथो पार्टी भयो । अर्को हाम्रै क्षेत्रमा बिमलेन्द्र निधिजी हार्नुभयो । त्यहाँ जातीय कारण, आन्तरिक कारण छन् । वर्तमान सरकारबाट जनता पूरा निराश छन् । जनताले बुझिसक्यो यो सरकार मधेशी जनताको लागि कुनै काम गर्न सकेको छैन र भ्रष्टाचारमा लिप्त छ भन्ने कुरा । यस हिसाबले अब हुने चुनावमा नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी भएर आउँछ भन्ने विश्वास छ ।

नेपाली काँग्रेसको महाधिवेशन नजिकिएसँगै आन्तरिक विवाद बढ्दो छ, यसलाई तपाईले कसरी लिनुभएको छ ?
– लोकतान्त्रिक पार्टीमा विवाद हुनु, सैद्धान्तिक मत भिन्नता हुनु निश्चितरुपले स्वभाविक हो । तर, अहिले नेपाली काँग्रेसको जुन यथास्थिति थियो, परम्परावाद थियो त्यसलाई यो निर्वाचनमा ब्रेक गर्छ जस्तो लाग्छ । किनभने बिमलेन्द्र निधिजी चुनाव लड्छु भन्नुभएको छ । यो ७० वर्षको इतिहासमा पहिलोपटक मधेशबाट काँग्रेसको एउटा सक्षम नेताले म चुनाव लड्छु भनेर भन्नुभएको छ । हरेक आन्दोलनमा आफ्नो सशक्त भूमिका निर्वाह गर्दा उहाँ सबैभन्दा धेरै पटक जेल जाने व्यक्ति हुनुुहुन्छ । उहाँ एउटा सक्षम, बुद्धि भएका र राजनीति बुझेको नेता हुनुहुन्छ । शेरबहादुर दाईले म जनजनको पार्टी बनाउँछु भन्नुभएको थियो । उहाँलाई के अनुरोध गर्नु चाहन्छु भने–तपाईले भन्नुभएको थियो मधेशी, दलित, जनजाति, महिलाको पार्टी बनाउँछु भनेर । अहिले तपाईको लागि सुवर्ण मौका छ । एउटा इतिहासमा स्वर्ण अक्षरले अंकित हुन्छ । एउटा राष्ट्रिय नेता, एउटा पार्टीको सभापतिले निश्चित रुपले समावेशितालाई आत्मसात गरेर बिमलेन्द्रजी जस्तो मधेशका एउटा उदीयमान नक्षत्रलाई पार्टीमा स्थापित गर्नुभयो भने स्वर्ण अक्षरमा देउवा र काँग्रेसको नाम लेखिन्छ ।

काँग्रेसले संघीय संसद र प्रदेश २ मा प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेको आरोप पनि छ नि ?
– केन्द्रमा र प्रदेशमा प्रतिपक्षीको काम के हो ? संसदमा कुरा उठाउने, सरकार विचलित हुन्छ भने त्यसलाई ठीक ठाउँमा ल्याउने, सरकारका कमीकमजोरीहरुलाई औँल्याउने, सरकारले गरेको राम्रो काममा सहयोग गर्ने । गुठीकै एउटा उदाहरण लिन सकिन्छ । संसदभित्र र संसद बाहिर सडकमा नेपाली काँग्रेसले आवाज उठाएपछि गुठी विधेयक फिर्ता भयो । प्रतिपक्षले आवाज उठाउने हो । सरकारको काम प्रतिपक्षले गर्ने होइन । सरकारको विरुद्धमा आवाज उठाउने हो । सरकारको बहुमत छ । सरकारले बहुमतबाट पारित गर्छ । प्रतिपक्षको कुरा सुन्नुपर्छ भनेर हामीले भन्ने हो । तर, सरकारले सुन्दैन । त्यसैले सदन र सडकबाट प्रतिपक्षले गम्भीर रुपमा यी विषयहरु उठाउनुपर्छ । सरकारका कमीकमजोरीलाई औल्यायौं भने सरकार सच्चिन्छ ।

एउटा उदाहरण छ, भारतमा सरकार मातहतका मिडियाले सरकारलाई सोध्नुपर्ने प्रश्न प्रतिपक्षलाई सोध्छ । यहाँ पनि त्यस्तै छ । हामी प्रतिपक्ष र सडकका प्रतिपक्षसँगै मिलेर गयौँ भने सरकार अवश्य पनि सही बाटोमा आउँछ ।

प्रतिक्रिया दिनुहोस्