बालुवाटारमा ओली पक्षका नेतहरुको भेला



काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु बालुवाटारमा भेला भएका छन् ।

बुधबार दिउँसो १ बजे बस्ने नेकपा केन्द्रीय सचिवालय बैठक सफल पार्न पार्टीका अर्का कार्यकारी अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसहितका असन्तुष्ट बहुमत सदस्यहरु कस्सिएपछि अर्का अध्यक्ष ओली पक्षका नेताहरु बालुवाटार भेला भएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा भइरहेको भेलामा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र पूर्व सभामुखसमेत रहेका पार्टी संसदीय दलका उपनेता सुबासचन्द्र नेम्बाङ सहभागी छन् ।

बालुवाटार स्रोतका अनुसार उनीहरुले प्रचण्ड समूहको सचिवालय बैठक डाक्ने योजनामा आफ्नो रणनीति तयार गर्न बैठक बसिरहेका छन् ।

ओली समूहमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलसमेत बुधबारको बैठकमा सहभागी हुने तयारी भएपछि प्रचण्ड समूहले बोलाएको सचिवालय बैठक थप रोचक बनेको छ ।

बादलनिकट पार्टी सांसद मायाप्रसाद शर्माका अनुसार गृहमन्त्री बादल भने उपस्थित हुनेछन् ।

प्रकाशित : मंसिर २, २०७७

प्रतिक्रिया दिनुहोस्