प्रचण्डको राजीनामा माग्ने ओली पक्षको तयारी



काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्ने तयारी गरेका छन् ।

मंसिर ३ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा १० दिनको समय मागेका प्रधानमन्त्री ओलीले प्रचण्डले लगाएका आरोपको खण्डनसहितको दस्तावेज पेस गर्ने तयारी थालेका छन् ।

ओलीको बचाउ तथा जवाफी आरोपको सूची बनाउन लागि परेका ओली पक्षले अर्का कार्यकारी अध्यक्षले नै राजीनामा दिनुपर्ने विषय समेत समावेश गर्दैछ । तर, ओली पक्षकै केही नेताले सहमतिको साझा दस्तावेज बनाउनुपर्ने माग राखेपनि त्यो सम्भावना भने क्षीण देखिएको छ ।

प्रधानमन्त्री ओलीका केही सहयोगी अहिले प्रचण्डको प्रतिवेदनमा लगाइएका आरोपको खण्डन गर्ने र आरोपको सूची बनाउन व्यस्त छन् । ओली पक्ष प्रचण्डसँग कुनै सम्झौता नगर्ने, बरू झन् आक्रमक बनेर वार कि पारको लडाइँमा उत्रिने तयारीमा देखिन्छ ।

कात्तिक २८ को सचिवालय बैठकमा प्रचण्डले ओली पार्टी र सरकार सञ्चालनमा अफसल भएकोदेखि सरकार नै भ्रष्टचारमा लिप्त भएको आरोप सहितको १९ पृष्ठ लामो दस्तावेज सचिवालयमा प्रस्तुत गरेका थिए ।

सो दस्तावेजबारे मंसिर ३ गतेको सचिवालय बैठकमा छलफल हुने भनिएको थियो । तर, प्रचण्डले आफूमाथि लगाएका आरोपको जवाफ ओलीले दिन १० दिनको मागेका थिए । सो समय लिएका ओलीले प्रत्युत्तर दिने मात्र हैन, प्रचण्डकै राजीनामा माग्नेसम्मको तयारीमा लागेका छन् ।

नेकपाका स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले सञ्चाकर्मीसँग कुरा गर्दै आरोप पुष्टि भए आफू प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन तयार रहेको, नभए दाहालले नै आत्मालोचनासहित तत्काल राजीनामा दिनुपर्ने प्रस्तावलाई ओलीले आफ्नो जवाफमा समेट्ने बताए ।

ओली पक्षले माओवादी लडाकु शिविर घोटाला प्रकरणदेखि विवादित व्यापारीहरूसँगको सम्बन्धसम्मका विषय उठाउने तयारी गरेको गुरुङले बताए ।

शंकर पोखरेल लगायत ओलीनिकट केही नेताले प्रचण्डलाई मनाएर साझा प्रस्ताव सचिवालयमा प्रस्तुत गर्नुपर्ने आवाज उठाए पनि त्यो सम्भावना निकै क्षीण देखिएको छ । प्रचण्डले ओलीमाथि लगाएको आरोपको छिनोफानो नगरी सँगै जान नसकिने अडान ओली पक्षको छ ।

यसैगरी ३ गते बसेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक मंसिर १८ गतेलाई बोलाउने निर्णय पनि गरेको छ । त्यस्तै यसअघि मंसिर १५ गतेलाई तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेसम्मलाई स्थागित गरिएको छ ।

प्रकाशित : मंसिर ७, २०७७

प्रतिक्रिया दिनुहोस्