प्रचण्डलाई भेट्न खुमलटार पुगिन् चिनियाँ राजदूत यान्छी



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्षस्थ नेताहरुबीच शक्ति संघर्ष सर्किरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् ।

सोमबार बिहान प्रचण्डलाई भेट्न राजदूत यान्छी प्रचण्ड निवास खुमलटार पुगेकी थिइन् । प्रचण्ड र राजदूतबीच के कुरा भयो भन्ने खुलाइएको छैन ।

गत महिनाहरुमा पनि नेकपाभित्र विवाद चर्किएका बेला चिनियाँ राजदूतले देखाएको सक्रियताले नेपाली राजनीतिक वृत्तमा निकै चर्चा पाएको थियो ।

राजदूत यान्छीले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेकी छन् । उनले मंसिर २ गते साँझ प्रधानमन्त्री ओलीलाई बालुवाटारमा गएर भेटेकी थिइन् ।

प्रधानमन्त्री ओली र यान्छीबीच भेट भएको अर्को दिन बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले १० दिनको समय मागेपछि बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ ।

अध्यक्ष प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको १९ बुँदे प्रतिवेदनको जवाफ दिन ओलीले समय मागेका हुन् ।

सचिवालय बैठक स्थगित भए पनि नेकपाको विवाद समाधानतिर जानुको साटो झन् उत्कसमा पुगेको देखिएको छ । यहिबेला राजदूत यान्छीले प्रचण्डलाई भेटेकी हुन् ।

चिनियाँ रक्षा मन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउँदै छन् । उनी मंसिर १४ गते काठमाडौं आउने कार्यक्रम रहेको छ ।

प्रकाशित : मंसिर ८, २०७७

प्रतिक्रिया दिनुहोस्