शहरी विकास मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउतबीच भेटवार्ता



जनकपुरधाम : संघीय सरकारका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत बीच भेटवार्ता भएको छ ।

शहरी विकास मन्त्रालयबाट प्रदेश २ मा जारी विकास निर्माणका कार्यहरुको स्थलगत निरीक्षणको लागि यस प्रदेशको भ्रमणका रहेका मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउत बीच आज (बिहीबार) मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटघाट भएको हो ।

भेटघाटको क्रममा शहरी विकास मन्त्री श्रेष्ठले प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको सप्तरी देखी पर्सासम्मको धार्मिक पर्यटकीय करिडोर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउदै आफ्नो मन्त्रालयबाट यस प्रदेशमा हुने सम्पूर्ण विकास निर्माणको कार्यमा प्रदेश सरकारसंग समन्वय गरेरै अघि बढने विश्वास दिलाए ।

मुख्यमन्त्री राउतले विकास निर्माणको कार्यमा एकरुपता ल्याउन तीनै तहका सरकार बीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । उनले विकास निर्माणको काम यहाँको जनताकै लागि गर्नुपर्ने भएकाले तीनै तहको सरकार बीच समन्वय गरेर अघि बढनुपर्ने आवश्यकता रहेको बताए । मुख्यमन्त्री राउतले धार्मिक पर्यटकीय विकासका साथै जनकपुरधामको लागी ल्याडफिल साइट निर्माणमा सहयोग गर्न संघीय मन्त्री श्रेष्ठलाई आग्रह समेत गरे ।

भेटघाटको क्रममा शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले प्रदेश २ मा शहरी विकास मन्त्रालयद्वारा जारी विकास निर्माणको कामहरु बारे जानकारी गराएका थिए ।

भेटमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, जनता समाजवादी पार्टीका सचेतकद्वय शैलेन्द्र कुमार यादव र परमेश्वर साह, प्रमुख सचिव लगायत विभिन्न मन्त्रालयका सचिव, शहरी विकास मन्त्रालयका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।

प्रकाशित :११ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्