नेकपा सचिवालय बैठक आज बस्दै, ओली पक्षले आफ्नो प्रस्ताव राख्ने



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । आज बस्ने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्ने छन् ।

आजको बैठकमा औपचारिक रूपमै दुई अध्यक्षका राजनीतिक प्रस्तावले प्रवेश पाउँदै छन् । जसमा ठोस सहमति भएन भने निर्णय प्रक्रियामा बहुमत–अल्पमतको बाटो खुला हुनेछ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट पेश भइसकेको राजनीतिक प्रस्तावको अध्यक्ष ओलीले आजको सचिवालय बैठकमा जवाफी प्रस्ताव पेश गर्दैछन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाल समूहबीचको अन्तसंघर्ष गालीगलौज र आरोप–प्रत्यारोपको चरणमा प्रवेश गरिरहेकै बेला बस्न लागेको सचिवालय बैठक नेकपाको आन्तरिक र एकीकृत जीवनका लागि धेरै महत्वपूर्ण मानिएको छ ।

पार्टी एकतापछि पहिलोपटक दुई अध्यक्षका भिन्दाभिन्दै प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि प्रवेश गरेपछि त्यसलाई टुंग्याउने विकल्प पनि साँघुरा हुँदै गएका छन् ।

ओलीको प्रस्ताव पेस भएपछि त्यसमाथि अध्ययनका लागि एक–दुई दिनको समय लिने र अर्को बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि सदस्यहरूले धारणा राख्ने सम्भावना रहेको बुझिएको छ ।

त्यसबीचमा संयुक्त प्रस्तावमा सहमति जुटेन भने दुवै प्रस्ताव स्थायी कमिटीमा प्रवेश गर्न सक्ने एक नेताले बताएका छन् ।

प्रचण्डले यसअघि ओलीले प्रमुख रूपमा गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्दै पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुपर्ने प्रस्ताव राखेका थिए । त्यसपछि ३ मंसिरमा बसेको बैठकमा ओलीले झुटा लाञ्छना नसहने स्पष्ट पार्दै जवाफ दिने बताएका थिए । प्रचण्डले बैठकमा राखेको प्रस्ताव ‘प्रस्ताव’ नै नभएको ओलीको तर्क थियो ।

मंसिर ३ गतेको सचिवालय बैठकपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच संवादसमेत भएको छैन ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्