गिठ्ठा भ्याकुर खाएपछि अस्पताल भर्ना



तनहुँ : गिठ्ठा भ्याकुर खाएर व्यास नगरपालिका–१ गल्बुवेंसीमा १० जना बिरामी परेका छन्।

वनबाट ल्याइएको गिठ्ठा भ्याकुर खाएर व्यास–७ दुलेपानीका उनीहरुलाई बान्ता हुने, रिँगटा लाग्ने र वाकवाक हुने भएपछि स्थानीयवासीले अस्पताल लगेका स्थानीय चक्रबहादुर अधिकारीले जानकारी दिए।

गल्बुवेंशीका फरकफरक घरका १० जना एकसाथ बसेर गिठ्ठा भ्याकुर खाएका थिए। अधिकारीका अनुसार गिठ्ठा भनेर जंगलमा हुने सर्पको मकै भनिने बाको ल्याएकाले बिरामी भएको हुनसक्ने अनुमान गरिएको छ।

बिरामी हुनेमा ३३ वर्षीया खुशी गुरुङ, ३५ वर्षीया सीता पहाडी, १२ वर्षीया संगीता गोदार, ४० वर्षीया माया राना, गुनुमाया गुरुङ, चन्द्रकला गुरुङ, ५० वर्षीय मिश्र गोदार, ५२ वर्षीय श्रीबहादुर गुरुङ, ९ वर्षीय सम्पन्न गुरुङ, ३६ वर्षीया माया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

उनीहरुको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। बिरामीलाई समयमै अस्पताल पुर्‍याइएकाले उनीहरुको अवस्था सामान्य अवस्थामा रहेको प्रहरी उपरीक्षक सिलवालले बताए। 

प्रतिक्रिया दिनुहोस्