नेकपा फुट्यो भने देशमा आगो बल्छ : योगेश भट्टराई



झापा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जारी विवाद सचिवालय बैठकले किनारा लगाउन सकेन भने स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

शनिबार झापाको विर्तामोडमा सिदार्थ होटल ग्राण्डसिटी प्रालीको उद्घाटन गर्दै पर्यटनमन्त्री भट्टराईले उक्त निर्णय पार्टी नेतृत्वविरुद्ध पनि हुनसक्ने बताएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसिरहेको नेकपा सचिवालय बैठकतर्फ लक्षित गर्दै उनले सो कुरा बताएका हुन् ।

‘नेकपाको सचिवालय बैठकले सकेन र विवाद किनारा लाउन सकेन भने स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्छ। त्यो निर्णय पार्टी नेतृत्वविरुद्ध पनि हुनसक्छ,’ उनले भने–‘नेकपा फुट्यो भने देशको भाग्य फुट्छ । किन भने नेकपाको समन्यवकारी भुमिकाले गर्दा अहिलेसम्म देशमा स्थिरता छ । नेकपा फुट्यो भने देशमा आगो बल्छ ।’

त्यस्तै उनले देशका विभिन्न शहरमा राजसंस्थाको पक्षमा भइरहेको प्रदर्शनलाई लक्षित गर्दै मरेको भूतहरु फर्कने सम्भावना नरहेको बताएका छन् । उनले भने–‘मरेका भूतहरु सल्बलाउनु स्वाभाविक भएको तर मरेका भूतहरु फर्कने सम्भावना छैन ।’

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्