सरकारले सातै प्रदेशमा एकैसात ३ सय ९६ आधारभूत अस्पताल शिलान्यास गर्दै



काठमाडौं : सरकारले सातै प्रदेशमा एकैसाथ तीन सय ९६ आधारभूत अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गरिनेछन् ।

सोमबार दिउँसो स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दैछन् ।

सातै प्रदेशमा नयाँ बन्ने अस्पतालहरु एउटै डिजाइनको हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले स्वास्थ्य सेवामा अहिलेसम्मकै ठूलो काम हुन गइरहेको बताएका छन् ।

अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत पाँच शय्याका ५२, १० श्ययाका १०९ र १५ शय्याका ३५ अस्पताल बनाइनेछन् । यो दुइ वर्षभित्र निमार्ण गरेर सञ्चालनमा ल्याउने सरकारको योजना रहेको छ ।

अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा गरिसकिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा सबै स्थानीय तहहरुमा ५ देखि १५ शय्याका अस्पताल बनाउने उल्लेख छ । तर सबै स्थानीय तहहरुमा १५ शय्याका अस्पताल बनाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हाल कूल ७५३ स्थानीय तहहरुमध्ये १ सय ४ वटामात्र मात्रै विभिन्न तहका अस्पताल छन् ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्