महामारीकाबीच यसरी हुँदैछ संसद अधिवेशनको तयारी



काठमाडौं : संसदको आगामी हिउँदे अधिवेशन कहिले हुने टुंङ्गो छैन तर यसको तयारी भने सुरु भइसकेको छ ।

संसद सचिवालयले कोरोना महामारीकैबीच हिउँदे अधिवेशनको तयारी थालेको हो । सचिवालयका अनुसार सम्भवतः पुसको दोस्रो सातासम्म हिउँदे अधिवेशन बस्नेछ ।

सचिवालयका अधिकारीहरुले मध्य पुससम्म हिउँदे अधिवेशन सुरु हुने भएकाले त्यसको तयारी थालेको हो । यसपटक कोरोना संक्रमणको पनि त्रास रहेकाले त्यसका लागि पनि विशेष ढंगले बैठकको तयारी भइरहेको छ । कोरोनाभाइरसको संक्रमण फैलिन नदिई बैठक गर्न आवश्यक तयारी भइरहेको संसद् सचिवालयको भनाइ छ । संसद् सचिवालयका अनुसार संसद्मा कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन जनस्वास्थ्यसम्बन्धी उपाय अवलम्बन गरिनेछ ।

संविधानको धारा ९३ ले संसद्का दुईवटा अधिवेशनबीचको समय छ महिना बढी हुन नहुने व्यवस्था गरेको छ । त्यसैले यसपटक हिउँदे अधिवेशन कम्तिमा पुस १७ भित्र सुरु भइसक्नेछ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । अधिवेशन पुस लागेपछि राष्ट्रपतिले आह्वान गर्ने अनुमान गरिएको छ तर सरकारले अझै संसद बैठकका लागि तयारी गरेको छैन भने मिति पनि तय गरिसकेको छैन । गत वैशाखमा सुरु भएको संसद्को बजेट अधिवेशन असार १८ मा सकिएको थियो । संसद अधिवेशन नबोलाइएकोमा सरकार र संसदको नेतृत्वमाथि आलोचना भइरहेको छ । बजेट पारित भएपछि सकिएको संसद अघिवेशन अहिलेसम्म पनि आह्वान हुन सकेको छैन् । तर संसद् अधिवेशन सुरु गर्नैपर्ने बाध्यात्मक समयसीमा नजिक आइसक्दासमेत सरकारले संसदको हिउँदे अधिवेशनको मिति तय गरेको छैन ।

गत साता काठमाडौंमा एक कार्यक्रममा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संसद् अधिवेशन छिट्टै आह्वान हुने भन्दै आवश्यक तयारी पूरा गर्न संसद् सचिवालयलाई आग्रह गरिसकिएको बताएकी थिइन् । यस्तै मंसिर ८ गते संसद सचिवायलमा नेपाली काँग्रेसका नेता मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएपछि पत्रकारहरुसँग कुराकानीमा सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारसँग छलफल भइराखेको बताएका थिए । उनले अधिवेशन सुरु गर्न संसद सचिवायल तयारी अवस्थामा रहेको र सरकारसँग पनि छलफल भइराखेको बताए । कोरोना महामारीका कारण संसद चलाउने सम्बन्धमा विभिन्न विकल्पमासमेत छलफल भइराखेको उनले बताए ।

खासमा सत्ताधारी नेकपाभित्रको शक्ति संघर्षको असर संसदमा परेको छ । पार्टीभित्रैबाट राजीनामाका लागि दबाब बढेपछि असारमा हठात् संसद अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री केपी शर्मा ओली अझै संसद अधिवेशन बोलाउन तयार भएका छैनन् । प्रमुख प्रतिपक्षी कांग्रेसमासमेत सुरूमा विशेष अधिवेशन बोलाउन माग गर्ने आवाज उठे पनि अहिले यसबाट पछि हटेको छ ।

सामान्यतः संसद्को बजेट अधिवेशन भदौसम्म चल्थ्यो । तर असार १० मा सुरू भएको पार्टीको स्थायी समिति बैठकमा बहुमत सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले असार १८ गते हठात् संसदको बजेट अधिवेशन अन्त्य गरे । अधिवेशन अन्त्य गरेको छ महिना पूरा हुन लाग्दा पनि हिउँदे अधिवेशन बोलाउने सुरसार छैन । यता पार्टीमा फेरि घेराबन्दी बढेको छ । प्रधानमन्त्रीमाथि भ्रष्टाचारमा मुछिएकालाई संरक्षण गरेकोसम्म आरोप पार्टीभित्रै लागेका बेला यो विषयलाई जोडदार रुपमा संसदमा उठाउनुपर्ने प्रतिपक्षी कांग्रेस भने मौनता साँधिरहेको छ ।

काँग्रेसको असोज १४ को बैठकले संसदको विशेष अधिवेशन बोलाउनुपर्ने निर्णय गरेपनि कार्यान्वयनका लागि कांग्रेसले ताकेता गरेको छैन । सरकारलाई जवाफदेही बनाउने थलो मानिने संसदमा मुख्य भूमिका खेल्ने प्रतिपक्षी दलले हो । तर असार १८ देखि बन्द रहेको संसद खुलाउनका लागि ठोस पहल नगर्नु अर्थपूर्ण छ । अधिवेशन माग गर्नुपर्ने प्रतिपक्षी किन एकाएक चुप लाग्यो भन्नेचाहिँ प्रश्नकै घेरामा छ ।

यसरी हुँदैछ तयारी
अधिवेशन सुरु हुनुअघि सबै सांसदको कोरोनाभाइरस परीक्षण गरिनेछ । यसका लागि संसद सचिवालयले स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरेको छ । त्यसबाहेक संसद् भवनमा सांसद् र कर्मचारीको ज्वरो मापन गर्न नेपालमै बनाइएको विशेष उपकरण प्रयोग गरिनेछ । राम रिमाल र लक्ष्मण रिमालले बनाएको ज्वरो नाप्ने उक्त उपकरणको नाम ‘थर्मोग्राफिक क्यामरा’ राखिएको छ । यसअघि ‘राम-लक्ष्मण इनाभेशन्स’ले बनाएको यस्तै उपकरण सिंहदरबारको एउटा प्रवेशद्वारमा जडान गरिएको थियो । उक्त उपकरण उनीहरूले सरकारलाई उपहारमा दिएका थिए ।

संसदको प्रवेशद्वारमा यस्तो उपकरण जडान गरेर चारवटा ठूला हलमा समिति बैठक राखिने छ । संसद् सचिवालयका अनुसार संसद्मा कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन जनस्वास्थ्यसम्बन्धी उपाय अवलम्बन गरिनेछ । प्रमुख प्रस्थानबिन्दुमै स्वचालित सेन्सरबाट सांसद तथा कर्मचारीहरूको हात सरसफाइ गरिने छ भने दोस्रो प्रस्थानबिन्दुमा थर्मल स्क्यानरबाट तापक्रम नापिने छ ।

यसैगरी संसदको सभाहलतर्फ प्रस्थान गर्ने द्वारमा जडान गरिएको उपकरणको दुईदेखि छ मिटरको दूरीमा कोही पुग्ने बित्तिकै त्यसले मानिसको शरीरको तापक्रम आफैँ नापेर सँगै राखिएको एउटा कम्प्युटरमा देखाइदिन्छ । संसद् सचिवालयले ज्वरो आएका सांसदलाई संसद् परिसरमै अरूबाट अलग राख्ने व्यवस्था पनि गरिरहेको छ । उच्च स्वरो आउने सांसदलाई आइसोलेशनमा केही बेर राखिने छ र थप उपचार आवश्यक परे अस्पताल पठाइने छ । संसद् बैठक हुँदा एउटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछ । अधिवेशन सुरु हुनुअघि नै सबै सांसद र कर्मचारीको पीसीआर विधिबाट परीक्षण गर्न सकिने कोरोनाभाइरस फैलिने जोखिम न्यून हुने संसद् सचिवालयको भनाइ छ । यसअघि लकडाउनको समयमा सञ्चालित बजेट अधिवेशनमा पनि सबै सांसदको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

सचिवालयले भौतिक दूरी र जनस्वास्वास्थ्यसम्बन्धी सबै उपाय अवलम्बन गरी संसद् भवनलाई नै सुरक्षित रूपमा बस्न मिल्ने गरी व्यवस्थापन गर्न लागेको हो । भवनलाई प्रत्येक दिन नि:संक्रमण गरिनेछ । सभाकक्षमा सांसदहरूबीच दुई मिटरको दूरी कायम हुने गरी सीट व्यवस्थापन गरिएको छ । यसपालि सभाहलको पछाडिपट्टि दर्शक, पत्रकार र कर्मचारीहरू बस्ने क्षेत्रमा पनि सांसदहरूलाई राखिनेछ । यसअघि बजेट अधिवेशनमा पनि एक-एक सीटको फरकमा सांसदहरूलाई बस्ने व्यवस्था मिलाइएको थियो तर त्यसबेला न्यूनतम दूरी कायम गरिएको थिएन । तर यस पटक प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा न्यूनतम दूरी कायम हुने संसद् सचिवालयको भनाइ छ । कुर्सी, टेबल, माइक सबैलाई दुई भिन्न उपकरणको प्रयोगबाट निर्मलीकरण गरिने तयारी सचिवालयको छ । सङ्घीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘हामीले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्डका आधारमा बैठक बस्ने तयारी गरेका छौँ र सकेसम्म सामाजिक दुरी कायम गर्ने गरी तयारी मिलाएका छौँ ।’

सङ्घीय संसदमा प्रतिनिधि सभा र राष्ट्रियसभा गरी ३३४ जना सांसद छन् । विश्व स्वास्थ्य सङ्गठनले कोरोना संक्रमण रोकथामका लागि व्यक्तिगत दूरी कायम गर्न विश्वभर सबैलाई आग्रह गरेको छ । सोही मापदण्ड अनुसार उच्च स्वास्थ्य र सुरक्षा सतर्कताका साथ बैठक कक्षको तयारी भइरहेको प्रवक्ता पाण्डेले बताए । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार विज्ञ चिकित्सकरूको टोलीले बैठक भवनको अवलोकन गर्ने र त्यसै आधारमा तयारी भइरहेको छ । यसअघिको पनि संसद बैठकमा यहि उपाय अपनाइएको थियो ।

प्रकाशित : १९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्