उपसभापति निधी भन्छन् : कांग्रेस कुर्सी र रेलिङ्ग भाँच्ने प्रतिपक्ष होइन



सर्लाही : नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले वर्तमान सरकारले एकपछि अर्को अलोकतान्त्रिक चरित्र प्रस्तुत गर्दै गइरहेको आरोप लगाएका छन्। नेता निधीले कांग्रेस अराजक एवं उदण्ड प्रतिपक्षको रुपमा प्रस्तुत हुन नसक्ने बताए।

नेपाल प्रेस युनियन सर्लाहीले सोमबार बरहथवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निधीले कांग्रेस अत्यन्त लोकतान्त्रिक पार्टी भएकाले सोही अनुसार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरेका हुन्।

‘वर्तमान ओली सरकारले एकपछि अर्को अलोकतान्त्रिक निर्णय अनि व्यवहार गरिरहेको छ’, उपसभापति निधीले भने, ‘तर हामी उहाँहरूले विगतमा गरेजस्तै सडकको रेलिङ् भाँच्ने, संसदको कुसी तोड्ने जस्ता अराजक र उदण्ड ढंगले विरोध प्रदर्शन गर्ने अलोकतान्त्रिक प्रतिपक्ष बन्दैनौं।’

कांग्रेसको संयमतालाई कमजोरी सोचे सरकारले गम्भीर परिणाम भोग्नु पर्ने निधीले चेतावनी समेत दिए। वर्तमान सरकारले १४ महिनामा कुनै राम्रो काम गर्न नसकेको बरु संघीयता विफल पार्ने बाटोमा लागेको पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका निधीको भनाई थियो।

‘ओली सरकारको सबैभन्दा राम्रो काम चारैतिर भ्रष्ट्राचार मौलाएको छ, संघीयता सफल पार्ने भन्दा पनि विफलताको बाटोमा अघि बढिरहेको छ’, उनले भने,‘ ‘अधिकारहरू क्रमशः प्रधानमन्त्री मै केन्द्रित गर्दै संघीयताको मर्ममाथि प्रहार गर्ने अनि प्रदेश सरकार र स्थानीय सरकारलाई बेवास्ता गरिरहेको छ।’

हिमाल पहाड तराई मधेश जागरण अभियानको रुपमा कांग्रेस जनताको घर–घरमा पुग्ने निधीले बताए। फरक प्रसंगमा नेता निधीले पार्टी एक रहेको दाबी बताए। मुलुकको नयाँ संविधान अनुसार पार्टीको विधान बनाउने कांग्रेस मात्र भएको निधीले दाबी गरे। 

प्रतिक्रिया दिनुहोस्