डिसेम्बरपछि कोरोनाको अर्को लहर शुरु हुने संक्रामक रोग विज्ञ डा.फाउचीको चेतावनी



काठमाडौं : डिसेम्बर अन्त्यपछि कोरोना महामारीको अर्को लहर शुरु हुने चेतावनी अमेरिकाका शीर्ष संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले दिएका छन् ।

संक्रामक रोग विज्ञ डा.फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी दिएका हुन् । उनले अहिले नै थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेका संक्रमण ठूलो समस्या बनिरहेको बताए ।

उनले लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौति बन्न सक्ने बताएका हुन् । अमेरिकामा संक्रमण एउटा उच्च विन्दु पछ्याउँदै औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ ।

अस्पतालहरू कोरोनाका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले खराब जनस्वास्थ्य संकटको चेतावनी दिएका छन् ।

न्यूयोर्कका गभर्नर एन्ड्रिउ कुमोले त्यस्तो अवस्थासँग जुझ्न थप प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन् ।

बीबीसीले जनाए अनुसार क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजोमले अस्पतालहरू खतराको तहमा भरिभराउ भइसकेको भन्दै मानिसहरूलाई सजग गराएका छन् ।

क्यालिफोर्निया राज्य कडा लकडाउनमा गएको छ भने अन्य राज्यहरूमा समेत अहिलेसम्मकै उच्च संक्रमण देखिन थालेका छन् ।

अहिलेसम्म अमेरिकामा १ करोड ४७ लाखभन्दा बढिमा संक्रमण पुष्टि भएका छन् भने २ लाख ८२ हजार पाँच सयको भाइरस जोडिएका घटनामा मृत्यु भएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको विवरणअनुसार यी दुवै संख्या विश्वकै उच्च हुन् ।

यता अमेरिकाका शीर्ष संक्रमक रोग विज्ञ डा. फाउचीले ज्यानुअरीको मध्यतिरको अवस्था अमेरिकाको लागि निकै भयानक समय हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

फाउचीले क्रिसमसका लागि आफ्नो चासो थ्याङ्सगिभिङका लागि जस्तै रहेको बताएका छन् ।

सीएनएनसँग कुरा गर्दै उनले भने–‘यो लामो बिदाको समय भएकाले यसले परिस्थितिलाई थप जटिल बनाउन सक्छ ।’

फाउचीलाई राष्ट्रपति निर्वाचित जो बाइडनले कोभिडका विषयमा आफ्नो प्रमुख चिकित्सा सल्लाहकारको रूपमा काम गर्न आग्रह गरेका छन् ।

कसैले पनि बिदाको यामलाई बन्द गर्न वा बदल्न नचाहेको बताउँदै फाउचीले भने–‘तर हामी निकै जटिल समयमा छौँ । हामी तथ्य र विवरणहरूबाट भाग्न सक्दैनौँ । यो सबैका लागि कठिन समय हो ।’

आइतवार अमेरिकाको खाद्य तथा औषधि निकाय एफडीएका पूर्वआयुक्त स्कट गोटलिबले ज्यानुअरीको अन्त्यसम्ममा अमेरिकामा भाइरसका कारण ज्यान गुमाउनेको संख्या चार लाख नजिक पुग्न सक्ने बताएका छन् ।

प्रकाशित : मंसिर २३, २०७७

प्रतिक्रिया दिनुहोस्