जहाज चलेको ५३ वर्षपछि जनकपुरमा नयाँ टर्मिनल भवन



जनकपुरधाम : २०२४ सालबाट सञ्चालनमा आएको जनकपुरको विमानस्थलमा ५३ वर्षपछि नयाँ टर्मिनल भवन बनेको छ ।

२०२४ सालमा भारत सरकारको सहयोगमा बनेको विमानस्थलको पुरानो टर्मिनल भवन साँघुरो र अव्यवस्थित छ । भवन अभावमा यात्रुहरु न्यूनतम सेवा सुविधाबाट पनि वञ्चित हुँदै आइरहेका थिए । १८ जना यात्रु बोक्ने सानो जहाजमार्फत् सञ्चालित जनकपुर विमानस्थल नयाँ टर्मिनल भवनबाट थप सुविधा दिन सक्ने भएको जनकपुर विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिए ।

नयाँ टर्मिनल भवनको मंगलवार पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्दैछन् ।

४२ करोडको लागतमा चार रोपनी जग्गामा निर्माण गरिएको नयाँ टर्मिनल भवन नेपालकै पहिलो स्टील स्ट्रक्चरको भवन रहेको जनकपुर विमानस्थल टर्मिनल भवन निर्माण आयोजनाका प्रमुख नल विक्रम थापाले बताए । ’यस भवनमा तत्कालै सात सय यात्रु एकपटक राखेर सेवा दिन मिल्ने व्यवस्था छ । त्यसैगरी सिसिटीभि, फायर अलार्म, सञ्चार सेवा, भीआइपी कक्ष र आमाबच्चा स्यहार कक्ष, धुम्रपान क्षेत्रको समेत बन्दोबस्त मिलाइएको छ । विमानस्थलको स्वरुप फेरिएपछि जनकपुरमा आन्तरिक र बाह्य पर्यटक भित्रिने अपेक्षा स्थानीयको छ ।

विमानस्थलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार निर्माण थालिएको नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गएिको छ । नागरिक उडड्यन प्राधिकरणले धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो गर्नुका साथै स्तरोन्नतिको काम गरेकोे छ ।
यस्तै ३५ जना सुरक्षाकर्मीहरुको लागि आवास गृह, ८० वटा कार र १५० वटा मोटरसाइकलको पार्किङ्स्थल, बगैंचा र अन्य संरचनाको पनि निर्माण गरिएको छ ।

२०६९ कात्तिकमा तत्कालीन पर्यटन तथा नागरिक उड्यनमन्त्री पोष्टबहादुर बोगटीले पहिलो चरणमा १८ करोडको लागतमा टर्मिनल भवनको शिलान्यास गरेका थिए । तर नागरिक उड्डयन प्राधिकरणको हेलचक्राई र निर्माण कम्पनीको लापरवाहीका कारण दुई वर्षमा निर्माण भइसक्नुपर्ने सो भवन आठ वर्षपछि तयार भएको हो ।

पछिलो समय बारुण यन्त्र र एक्सरे मेसिनको समेत व्यवस्था मिलाइएको छ । राती उडानको पनि सफल परीक्षण गरिसकेको यस विमान स्थलमा नेपाल आयल निगमले जहाजमा इन्धन भर्ने व्यवस्था पनि मिलाएको छ ।

नयाँ टर्मिनल भवनबाट जनकपुरमा कार्यालय राख्न खोज्ने विमान कम्पनीहरुलाई पनि अब सेवा विस्तारको अवसर मिल्नेछ । हाल यहाँबाट बुद्ध एयरलाइन्सको ३, यति एयरलाइन्सको १ र श्री एयरलाइन्सको १ गरी पाँचवटा विमानले सेवा दिँदै आएका छन् ।

प्रकाशित : मंसिर २३, २०७७

प्रतिक्रिया दिनुहोस्