राप्रपाबिनै सर्वदलीय बैठक



काठमाडौं : राजावादीहरुको सडक प्रदर्शन र बढ्दै गएका गणतन्त्रविरोधी गतिविधिका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीविनै सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ११ बजेदेखि सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहे पनि कमल थापा नेत्तृत्वको राप्रपालाई भने छुटाइएको छ ।

मुलुकको समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसंग छलफल गरी साझा धारणा बनाउन बोलाइएको बैठकमा गणतन्त्रको प्रारम्भदेखि नै राजतन्त्रको वकालत गर्दै आएको राप्रपालाई नबोलाउनुलाई महत्वका साथ हेरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, कांग्रेस वष्ठि नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, नेकपा उपाध्यक्ष वामदेव गौतम र नेमकिपाका नेता प्रेम सुवाल उपस्थित छन् ।

साथै, कांग्रेस नेताहरु डा. प्रकाशशरण महत, विमलेन्द्र निधि, जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवलगायत १५–१६ संसदमा प्रतिपनपधत्व गर्ने सबै दलका शीर्ष नेता तथा प्रतिनिधिहरु उपस्थिति छन् ।

तर, राप्रपालाई भने बैठकमा उपस्थितिका लागि खबर नै नगरेको राप्रपा कार्य सम्पादन समितिका सदस्य मोहन श्रेष्ठले बताए । उनले भने ‘हामीलाई आधिकारीक खबर नै आएन, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सर्वदलीय बैठकका बारेमा थाहा पायौं ।’

राप्रपालाई बैठकमा नबोलाउनुको अर्थ?

पछिल्लो समय देशभरी राजावादी र गणगणतन्त्रविरोधीहरुका गतिविधि बढेको जनगुनासो बढ्दै गएको छ । विभिन्न पार्टीका नेताहरुसहित सत्तारुढ दलका केही नेताहरुले पनि सरकार गणतन्त्रविरोधीहरुको मूकदर्शक बनेको आरोप लगाएपछि प्रधानमन्त्री ओलीको आह्वानमा बैठक बसेको हो ।

धेरैले प्रधानमन्त्री ओलीलाई नै राजावादीहरुलाई सहयोग गरिरहेको आरोप पनि लगाउने गरेका छन् । तर, आज त्यही विषयमा छलफल गर्ने बैठकमा राजापक्षधर पार्टी राप्रपालाई नबोलाएर प्रधानमन्त्री ओलीले राजतन्त्रको वकालत गर्नेहरुलाई निषेध गरेर अगाडि बढ्ने सन्देश दिन खोजेको विश्लेषण हुन थालेको छ ।

साथै ओलीले राजसंस्थाका विषयमा हुने गतिविधि रोक्न आगामी दिन कठोर भएर प्रस्तुत हुने संकेतका रुपमा पनि हेर्न थालिएको छ ।

बैठकमका ‘प्रधानमन्त्री ओलीले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्