एकै समूहले ६४ वटासम्म कम्पनी खोलेर सेयर बजारमा चलखेल



काठमाडौं : एउटै समूहले ६० वटासम्म लगानी कम्पनी खडा गरी नेपालको सेयर बजारमा चलखेल गर्ने गरेको तथ्य पत्ता लागेको छ । धितोपत्र बोर्डले करिब ५ वर्षअघि गरेको अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएको थियो । तर, त्यो अनुसन्धानको प्रतिवेदन यस्तै चलखेल गर्ने कम्पनीको दबाबका कारण हालसम्म पनि सार्वजनिक गरिएको छैन । 

करिब ५ वर्षअघि बोर्डले सेयर बजारमा एउटै व्यक्तिले २० वटाभन्दा धेरै लगानी कम्पनी खोलेर आपसी कारोबार गर्ने गरेको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेको थियो । त्यो विज्ञप्ति त्यही अध्ययनका आधारमा जारी भएको थियो, तर प्रतिवेदनले ६० वटासम्म कम्पनी एकै समूहले स्थापना गरी कारोबार गरेको स्पष्ट रूपमा उल्लेख गरेको थियो । तर, न त प्रतिवेदन सार्वजनिक गर्‍यो, न त ती संस्थालाई कारबाही गर्न नै अगाडि बढ्न सक्यो । 

फलस्वरूपः भित्री कारोबारमा संलग्न हुन सक्ने भनेर प्रतिवेदनमा औँल्याएका ती विभिन्न समूहहरू अहिले पनि त्यसैगरी धेरै कम्पनीमार्फत सेयर कारोबार गरिरहेको भेटिएको छ । ‘हाम्रो टोलीका सबै सदस्य अलग–अलग कम्पनीबाट कारोबार भएको देखाएर मूल्य बढाउने प्रयोजनका लागि ती कम्पनीहरूको स्थापना गरिएको थियो र त्यसबाट सेयर बजारमा तीव्र चलखेल भएको भन्नेमा स्पष्ट थियौँ,’ अध्ययन टोलीका एक सदस्यले भने, ‘तर, त्यसरी चलखेल गर्नेलाई कारबाही त कता हो कता, प्रतिवेदनसमेत सार्वजनिक गरिएको छैन ।’ 

६० वटासम्म कम्पनी खोलेर एउटै समूहले एउटै सम्पर्क नम्बरबाट समेत कारोबार गरिरहेको पाइएको थियो । यसरी एउटै सम्पर्क नम्बरबाट ६४ कम्पनी खोली कारोबार गर्ने संघई समूह रहेको प्रतिवेदनले देखाउँछ । २०७२ सालमा अध्ययन गरिएको प्रतिवेदनले एनबी समूह, निर्मल प्रधान समूह, संघई समूह, गौरी श्रेष्ठ र कालु गुरुङ समूहले यसरी धेरै लगानी कम्पनीमार्फत कारोबार गरिरहेको पाएको थियो । प्रधानले १२ वटा कम्पनीको कारोबार चार फरक सम्पर्क नम्बरबाट गरेका थिए । त्यस्तै, एनबी समूहले सात कम्पनीको चारवटा सम्पर्क नम्बरबाट, गौरी श्रेष्ठले तीनवटा कम्पनीको तीन र कालु गुरुङले पाँच कम्पनीका चार अलग–अलग सम्पर्क नम्बरबाट कारोबार गर्दै आएका थिए।

त्यसरी सेयर कारोबार गर्ने कतिपय कम्पनीले धितोपत्रमा लगानी गर्ने उद्देश्य नै राखेका थिएनन् । आयात–निर्यात गर्ने, रियल इस्टेटमा कारोबार गर्ने, प्लास्टिकका विविध वस्तु उत्पादन, खुद्रा व्यापार, ग्यास उत्पादन, सिमेन्ट उत्पादन, धागो उत्पादनजस्ता उद्देश्य राखिएको कम्पनीको नामबाट समेत यी समूहले कारोबार गर्ने गरेको भेटिएको थियो । सञ्चालक समितिको बैठकबाट सेयर खरिद–बिक्री गर्ने निर्णय गरेर सेयर बजारमा यस्ता कम्पनी प्रवेश गरेका थिए । 

एउटै समूहले स्थापना गरेका कम्पनीले एउटै ब्रोकर कम्पनीलाई सेयर खरिद–बिक्रीको निर्देशनसमेत दिँदै आएका थिए । ‘एउटै सम्पर्क नम्बर भएका कम्पनीले खरिद–बिक्रीको आदेश दिँदा चलखेलको विषय ब्रोकरले थाहा पाउँछ,’ स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिले भने, ‘बजार यही हो, अब आफैँ बुझ्नुस् न ।’ उनको संकेत धेरै कम्पनी खोलेर सेयर बजारमा चलखेल गर्नेहरूका विषयमा सेयर ब्रोकरहरू मौन थिए । ब्रोकर नम्बर १०, २५, ३४ बाट एनबी समूहका कम्पनीले, ब्रोकर नम्बर १, ६, १०, १७, ३४ र ४८ बाट निर्मल प्रधानका कम्पनीले कारोबार गर्ने गरेका थिए । संघई समूहका कम्पनीले भने ब्रोकर नम्बर ८ र १७ नम्बर ब्रोकरमार्फत, गौरी श्रेष्ठ समूहका कम्पनीले ६, ३५, ४३, ४८ र ५८ बाट कारोबार गरिरहेका थिए । कालु गुरुङका कम्पनीले २०, ३२, ४२ र ५४ नम्बर ब्रोकरबाट कारोबार गर्दै आएका थिए ।    

तत्कालीन समयमा धितोपत्र बोर्डले अध्ययनलाई थप अगाडि बढाउन नसक्दा यी कम्पनी न त कारबाहीमा आउन सके, न त यी संस्थाले त्यसपछिका वर्षहरूमा गरेको कारोबारको निगरानी राखियो । यी कम्पनीहरू पछिल्लो समय सक्रिय रहेको–नरहेको पत्ता लगाउन सहयोग गर्ने नेप्सेकै अधिकारीहरू पनि सम्पर्क नम्बर एउटै हुनुको अर्थ बजारमा चलखेल गर्ने उद्देश्य नै रहेको मान्छन् । ‘यसको सोझो अर्थ बजारमा आफूअनुकूल मूल्य बढाउने उद्देश्य नै हो,’ ती अधिकारीले भने, ‘अहिले भने यस्तो सम्भव हुँदैन ।’ 

अहिले पनि समूह बनाएर कुनै समूह आफूले चाहेअनुसार बढाउने क्रम भने बजारमा रोकिएको छैन । ‘तुलनात्मक रूपमा सर्वसाधारणमा कम सेयर जारी गरेका, कम चुक्ता पुँजी भएका कम्पनीहरूको मूल्यमा अहिले केही समूह एक–आपसका मिलेरसमेत मूल्य बढाउने गरिरहेका छन्,’ सेयर लगानीकर्ता तथा विश्लेषक प्रकाश तिवारीको दाबी छ । एउटै व्यक्तिले अलग–अलग कम्पनीमार्फत कारोबार गर्ने क्रम केही सुस्तिएको उनको बुझाइ छ । 

प्रतिवेदनले दोस्रो बजारमा निजी लगानी कम्पनीहरूको उल्लेखनीय संख्या रहेको र यिनीहरूको लगानी कार्यलाई दायरामा ल्याई विश्वसनीय धितोपत्र बजारको विकास र विस्तार गर्नसमेत यस्ता कम्पनीहरूको सम्पूर्ण गतिविधिहरूको थप विस्तृत अध्ययन गर्न आवश्यक रहेको उल्लेख गरेको छ । तर, बोर्डले न त यही प्रतिवेदनमा उल्लेख भएका कम्पनीहरूको थप अध्ययन अगाडि बढायो, न त यो प्रवृत्तिको । 

हुन त नेप्सेले अहिले विकास गरेको स्वचालित प्रणालीमा रहेको सर्कुलर कारोबार हेर्न सकिने व्यवस्था छ । तर, यसको प्रभावकारी प्रयोग नभएको धितोपत्र बोर्डकै अधिकारी, ब्रोकर कम्पनीहरू बताउँछन् । ‘हाम्रो सुपरिवेक्षण विभागमा रहेर यो सबै हेर्न मिल्दैन,’ धितोपत्र बोर्ड स्रोतले भन्यो, ‘नेप्सेले चाह्यो भने सक्छ ।’ नेप्सेले भने यस्तो मिलेमतो कारोबार सम्भव नै नभएको दोहो¥याउँदै आएको छ ।  ‘प्रबन्धपत्रमा उल्लेख भएको उद्देश्यबाट उक्त कम्पनी अविचलित हुने साथै सेयर बजारसमेत अवाञ्छित प्रभाव पर्न सक्ने भएकाले सम्बन्धित कम्पनीको नियमन निकायसँग बोर्डले समन्वय गरी उपयुक्त व्यवस्था गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ । 

कुन–कुन समूह छन् अझै सक्रिय ? 
प्रतिवेदनमा उल्लेख पाँचमध्ये एनबी समूह र निर्मल प्रधान समूहले अहिले पनि दुई–दुई कम्पनीमार्फत कारोबार गरिरहेका छन् । एनबी समूहले सात कम्पनीका नामबाट सेयर कारोबार गर्दै आएको थियो । जेनी श्रेष्ठ प्रमुख रहेका यी कम्पनीमध्ये हाल सांग्रिला इन्भेस्टमेन्ट प्रालि र एनबी ग्रुप नेपाल दोस्रो बजारमा सक्रिय छन् । यही समूहको एनबी इन्टरनेसनल प्रालि एक वर्षअघिसम्म बजारमा सक्रिय थियो । ०५१ देखि ०५८ सालमा दर्ता भएका यी सात कम्पनीले चारवटा सम्पर्क नम्बरबाट सेयर कारोबार गर्दै आएको पाइएको थियो । निर्मल प्रधान समूहले १२ वटा यस्ता कम्पनीमा हाल राजधानी इन्भेस्टमेन्ट फन्ड र निर्मल हाउजिङ डेभलपमेन्ट प्रालि दोस्रो बजारमा सक्रिय छन् । अन्य चार कम्पनी बाबा प्यालेस स्टक इन्भेस्टमेन्ट प्रालि, बाबा प्यालेस स्टक एक्सचेन्ज प्रालि, बाबा प्यालेस स्टक मार्केट प्रालि र बाबा प्यालेस स्टक डेभलपमेन्ट प्रालि १८ महिनाअघिसम्म दोस्रो बजारमा सक्रिय रहेको पाइएको छ । 

आफूले धेरैवटा कम्पनी खोलेर सेयर कारोबार गरेको लगानीकर्ता निर्मल प्रधानले स्वीकार गरे । ‘पहिले एक व्यक्ति वा कम्पनीले एउटा बैंकको सेयर आफूले चाहेजति लिन पाउँदैनथ्यो,’ प्रधानले भने, ‘त्यसैले मैले बैंकमा आफ्नो सञ्चालक पठाउन यसो गरेको थिएँ ।’ एभरेस्ट बैंक लगानी गर्न मात्रै यो बाटो लिएको प्रधान बताउँछन् । उनीमातहतका लगभग सबै कम्पनीहरूको स्वामित्वमा रहेको सेयर बेचेको र बाँकी पनि बेच्ने क्रममा रहेकाले केहीको अहिले पनि कारोबार भइरहेको देखिएको हुन सक्ने उनले उल्लेख गरे । 

प्रतिवेदनअनुसार संघई समूहको नाममा रहेका ६४ वटा कम्पनीहरू भए पनि प्रमुखका रूपमा भने पाँच अलग–अलग नाम छन् । वीरेन्द्रकुमार संघई, पुरुषोत्तमलाल संघई, गोविन्दलाल संघई, रामचन्द्र संघई, सुवासचन्द्र संघई र सुशीलादेवी संघईलाई सञ्चालक राखेर कम्पनी दर्ता भएका छन् । उनीहरू क्रमशः १२, १६, १४, ८, १० र ४ कम्पनीका प्रमुख रहेको प्रतिवेदनले उल्लेख गरेको थियो । यसमध्ये ६० वटा कम्पनीले भने एउटै सम्पर्क नम्बरबाट सेयर कारोबार गर्दै आएको अध्ययनले भेटेको थियो । यो समूहको भने हाल कुनै पनि कम्पनी सक्रिय रूपमा बजारमा लगानी गरिरहेको छैन ।

तर, रेन्बो फोटो फिनिसर्स प्रालि र रेन्बो क्यामेरा इन्डस्ट्रिज प्रालि दुई वर्षअघिसम्म सक्रिय रूपमा कारोबार गरिरहेका थिए । त्यस्तै, यही समूहको १३ वटा कम्पनीले तीन वर्षअघिसम्म सक्रिय रूपमा बजारमा कारोबार गरिरहेका थिए । गौरी श्रेष्ठ प्रमुख रहेको एसजी सेक्युरिटिज प्रालि, शिवांगी इन्भेस्टमेन्ट प्रालि र सनसाइन स्टोरको भने कारोबार रेकर्ड नेप्सेमा भेटिँदैन । प्रतिवेदनमा भने यिनले २०७२ सालमा सक्रिय रूपमा कारोबार गरिरहेको पाएको थियो । कालु गुरुङ प्रमुख रहेका पाँच कम्पनीको पनि अवस्था उही छ । केएसडी इन्भेस्टमेन्ट प्रालि, रोडसो रियल इस्टेट प्रालि, रोडसो इन्भेस्टमेन्ट कम्पनी प्रालि, रोडसो इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र आकारा डेभलपर्स प्रालिका नामबाट गुरुङले कारोबार गर्दै आएका थिए ।

धितोपत्र बोर्ड कमजोर हुँदा बजारमा चलखेल : झाँक्री

नेपाल धितोपत्र बोर्ड कमजोर हुँदा सेयर बजारमा चलखेल हुने गरेको संसद्को अर्थ समितिको मुद्रा बजार अध्ययन सम्बन्धमा यसअघि बनेको उपसमितिकी संयोजक रामकुमारी झाँक्रीले बताइन् । ‘बोर्डको अनुसन्धान विभाग शोध गर्ने विभागजस्तो मात्र छ, यसले आजको अराजक बजारलाई नियमन गर्न नै सम्भव छैन,’ पूर्वसांसद झाँक्रीले भनिन्, ‘बजारमा अहिलेसम्म कुनै लगानीकर्तालाई गलत कार्यमा कारबाही भएको छैन, कहिलेकाहीँ त बोर्ड, नेप्सेकै कर्मचारी यस्तो अनैतिक कारोबारमा सहयोगी भएको देख्छु ।’ बोर्डमा अनुसन्धानका लागि अहिलेको संरचना नै फेर्नुपर्ने झाँक्री बताउँछिन् । 

धितोपत्र बोर्डले भने यस विषयमा अनुसन्धान हुन नसक्नुमा लाचारी प्रकट गरेको छ । ‘इन्भेस्टमेन्ट कम्पनीलाई कसरी नियमन गर्ने भनेर कुरा भएको थियो, कम्पनी ऐन सच्याएर जाने भन्ने थियो,’ धितोपत्र बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नीरज गिरीले भने, ‘थप अनुसन्धान भने हुन सकेन ।’ नयाँ पत्रिका दैनिकमा विजयराज खनालले लेखेका छन् ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्