संसद पुनर्स्थापनाका लागि प्रचण्ड–नेपाल पक्षले ५० हजार नेता–कार्यकर्ता उतार्दै



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले उपत्यकामा आमसभा गर्ने भएको छ । नेकपाको पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले पुस १४ गते आमसभा गर्ने भएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले आमसभा गर्न लागेको हो ।

उपत्यका हुने आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने छन् ।

संसद पुनर्स्थापनाका लागि दबाब दिन ५० हजारभन्दा धेरै नेता कार्यकर्ता उतारिने बताइएको छ ।

टेकु र कीर्तिपुरबाट निस्कने जुलुसमा सीतापाइला, थानकोट, धादिङ र मकवानपुरबाट आउनेहरु सहभागी हुने छन् । यस्तै नयाँ बानेश्वरबाट आउने जुलुसमा भक्तपुर, काभ्रे, रामेछाप र दोलखाबाट आउने सहभागी हुने छन् । मैतिदेवीबाट निस्कने जुलुसमा साँखुबाट आउने सहभागी हुने छन् । लैनचौर, बालाजुबाट निस्कने अर्को जुलुसमा बुढानीलकण्ठ, नुवाकोट, रसुवा, टोखा र नगरकोटलगायत क्षेत्रबाट आउनेहरु सहभागी हुने छन् । यस्तै विद्यार्थी र युवा बागबजार, त्रिचन्द्र कलेजबाट जुलुस निकालेर भृकुटीमण्डप पुग्ने छन् । आमसभामा सहभागी हुन नेताहरु उपत्यकाका छिमेकी जिल्लामा परिचालन गरिएको जनाइएको छ ।

उपत्यका विभिन्न स्थानबाट जुलुस निकालिने छ । उपत्यकामा निकालिएको जुलुस मध्याह्न १२ बजे भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुने जनाइएको छ ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्