मण्डिखाटार घटनामा संलग्ता छैन : विप्लव



काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ स्थित मण्डिखाटारमा गत वर्षको फागुनमा भएको तोडफोड घटनामा संलग्नता नरहेको दाबी गरेको छ ।

२०७६ फागुन १६ गते मण्डिखाटारका मनोहरराज घिमिरेको घर र गाडीमा तोडफोड भएको थियो । सो घटनामा विप्लव समूहले संलग्नता नरहेको विप्लव समूहका काठमाडौं जिल्ला सेक्रेटरी ‘पवन’ले दाबी गरेका हुन् ।

आइतबार विज्ञप्ति जारी गर्दै ०७६ फागुनमा भएको सो घटनामा आफ्ना नेता–कार्यकर्ताको संलग्नता नरहेको आन्तरिक अनुसन्धानबाट पुष्टि भएको विप्लव समूहका काठमाडौं जिल्ला सेक्रेटरी ‘पवन’ले जानकारी दिएका छन् ।

विप्लव समूहको नाम लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संघ गोरखा संयोजक अशोक शर्मा भट्ट र राष्ट्रिय जनता पार्टीमा आवद्ध गणेश कुँवरले आक्रमण गरेको सो समूहले दाबी गरेको छ । गणेश कुँवर गुल्मीका हुन् ।

तोडफोडलाई ‘आपराधिक घटना’को संज्ञा दिँदै भट्ट र कुँवरलाई सो समूहले कारवाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्