चुनाव हुन्छ भन्ने भ्रममा नपर्न काँग्रेसलाई बाबुराम भट्टराईको आग्रह



काठमाडौं : पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काँग्रेसलाई चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गरेका छन् ।

आइतबार काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिका संसद विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै संघीय परिषद् अध्यक्ष भट्टराईले काँग्रेससँग सो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश शासन गर्ने ध्येयमा रहेको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म ओलीले चुनाव नगराउने बताए ।

‘चुनाव हुन्छ र चुनावमा गएपछि काँग्रेस ठूलो पार्टी हुन्छ, सरकार चलाउँछ भन्ने भ्रममा नपर्नुस्,’ भट्टराईले भने–‘चुनाव भ्रम मात्र हो, आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका छन् । आफ्नो प्रभुत्व पुरै कायम गरेको विश्वास नभएसम्म चुनाव हुन्न ।’

भट्टराईले अदालतबाट संसद पुनस्र्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन नसकेको बताएका छन् ।

‘अदालतबाट आशा त गरौं, भर गर्ने ठाउँ छैन । किनकी अदालत जहिले पनि सार तत्वमा जाँदैन । न्याय दिने भन्दा पनि विधि प्रमाण पुर्याउनेतिर जान्छ,’ उनले भने–‘काँग्रेस र अरु साथीहरुलाई आग्रह गर्न चाहन्छु, न्यायालयबाट आश गरौं, ढुक्क नबनौं ।’

यसबाहेक अर्को विकल्प भनेको सार्वभौम अधिकार प्रयोग गरेर संंसद बोलाउने भएको उनले बताए ।

काठमाडौंको शान्तिवाटिका रत्नपार्कमा आइतबार मध्याह्न १२ बजे प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले प्रदर्शन गरेको हो । शान्तिवाटिकाबाट शुरु भएको जुलुस बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामा पुगी सभामा परिणत भएको हो ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्