अविश्वासको प्रस्ताव आरामले सामना गर्छु : मुख्यमन्त्री राई



विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताएका छन् ।

आइतबार बिहान प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले मुखयमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वासको प्रस्ताव दर्ता भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले प्रस्तावले आफू नआतिएको बताए ।

‘केन्द्रको राजनीतिक गतिरोध र प्रतिनिधिसभा विघटनलाई आधार बनाएर यो प्रदेशमाथि सुनियोजित रुपमा आक्रमण भएको हो । म यसको सामना आरामले गर्छु,’ उनले भने ।

उनले दर्ता भएको अविश्वासको प्रस्ताव आफूमाथि मात्रै नभइ प्रदेश माथिकै आक्रमण भएकाले यसलाई सांसदले केलाएर बुझ्ने र आफूलाई बहुमत सांसदले साथ दिने विश्वास समेत व्यक्त गरे ।

‘केही सांसदको हस्ताक्षरले म आतिएको छैन, विवेक भएका माननीय सदस्य प्रदेश सभामा हुनुहुन्छ,’ मुख्यमन्त्री राईले भने–‘यो चालबाजीलाई उहाँहरुले बुझ्नुभएको छ र उहाँहरुको साथ मलाई अवस्य हुन्छ ।’

प्रदेश सरकार असक्षम भएर, प्रदेश सरकारले काम गर्न नसकेर र मुख्यमन्त्रीले नाजायज काम गरेर नभइ कसैद्वारा निर्देशित भएर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको उल्लेख गर्दै उनले प्रस्ताव सुनियोजित भएको दाबी गरे ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्