त्यस्तो गेस्ट हाउस, जहाँ न कार छ न मोबाइल 



कोपनहेगन : विश्वको सबैभन्दा ठूलो टापु ग्रिनल्यान्ड विचित्रको छ। यसको पूर्वी भूभागमा मानव बसोबास भए पनि सहर बजार र आधुनिकताबाट कोसौं टाढा छ। त्यहाँ तपाईंले न त कार नै चढ्न पाउनु हुन्छ न त मोबाइल फोन नै चलाउन।

२१ लाख ६६ हजार वर्गकिलोमिटर क्षेत्रफल रहेको ग्रिनल्यान्डको कुल जनसंख्या ५६ हजार १ सय ७१ (सन् २०१७ को तथ्यांकअनुसार) मात्र छ। त्यसैगरी जनघनत्व प्रतिकिलोमिटर १ व्यक्ति छ। कुल जनसंख्याको करिब एक तिहाइ (लगभग १९ हजार) मानिस राजधानी नुकमा बस्छन्।

पूर्वी भूभागको गाउँ इत्तोकोतुर्मित समुद्रतटमा अवस्थित छ। यो गाउँमा अझै पनि आधुनिकता पुगेको छैन। जाडोमा यहाँ पानी पानी जम्छ। यहाँ होटलको नाममा जम्माजम्मी एउटा गेस्ट हाउस छ।

गेस्ट हाउसका मालिक एक दिन त कसो यहाँ विदेशबाट बिदा मनाउन पर्यटक नआउलान् भनेर प्रतीक्षारत छन्।

इत्तोकोतुर्मिसका सबै घर रंगीन छन्। यो गाउँको हजार किलोमिटर वरिपरि कुनै बसोबास छैन। गेस्ट हाउसमा भने न्यानो बस्न पर्याप्त उपाय गरिएको छ। गेस्ट हाउसले मनोरञ्जनका लागि ९० वटा डिभिडी प्लेयर राखेको छ।

गाउँका सबै घर न्यानो राख्न सेन्ट्रल हिटिङ सिस्टम छ। छन त वाईफाई सेन्टर पनि छ। अमेजनबाट केही किन्नु परे सामानको पार्सल आइसल्यान्डबाट जहाज चार्टर गरेर पठाइन्छ। र, यति गर्न करिब २ महिना लाग्छ।

यहाँको मुख्य खानेकुरा भनेको प्रचुर संख्यामा पाइने रेनडियर र आर्कटिक–४ नामको माछा हुन्। यहाँका बासिन्दा ध्रुवीय भालु(पोलार बियर) को छालालाई कोट र सिल माछाको छालालाई पञ्जाका रूपमा प्रयोग गर्छन्।

इत्तोकोतुर्मिसमा केटाकेटीले बाहिर खुल्ला मैदानमा खेल्न पनि कठिन छ। किनभने उनीहरू खेल्न घरभन्दा टाढा जान पाउँदैनन्। कारण ध्रुवीय भालुसँग जम्काभेट हुने डरले उनीहरू घरबाट पर जान सक्दैनन्।

यहाँका बासिन्दाको जीविका ध्रुवीय भालु र ह्वेलको सिकारमा निर्भर छ। यहाँको सामान्यतया दिउँसोको औसत तापक्रम –२५ डिग्री सेल्सियस रहन्छ भने जाडोमा –६० डिग्री सेल्सियससम्म झर्छ।

जाडोमा समुद्रको पानी जमेर बरफ बन्छ। यसपछि भने यहाँका बासिन्दाले बाक्लो बरफ दुलो पारेर सिकार गर्नु पर्छ। यहाँको ग्रिनल्यान्ड नेसनल पार्क विश्वकै सबैभन्दा ठूलो निकुञ्ज पनि हो।

जाडो याममा खानेकुराको खोजीमा ध्रुवीय भालु गाउँसम्मै पनि आउने हुनाले गाउँलेको ज्यान जोखिममा पर्न सक्छ।

अहिले भने यस्तो हिमाली टापु ग्रिनल्यान्ड जलवायु परिवर्तन (ग्लोबल वार्मिङ)को चपेटामा परेको छ। बढ्दो तापक्रमका कारण जाडो याम नै ढिलो सुरु हुन्छ।

गेस्ट हाउसकी प्रवन्धक मेते बार्सेलासेन भन्छिन्, ‘जतिबेला म युवा थिएँ, त्यसबेला सेप्टेम्बरमै समुद्र जमेर बरफ बन्थ्यो। तर हिजोआज त दुई महिनापछि नोभेम्बरमा मात्र समुद्र जम्न थालेको छ।’

मेतेका अनुसार समय फेरिएसँगै (जलवायु परिवर्तनसँगै) ध्रुवीय भालुसँग उनीहरूको सम्बन्ध पनि फेरिएको छ। ‘युवावस्थामा हामी पाइला देखेर भालु कहाँ छन् भनेर थाहा पाउँथ्यौं’, उनी भन्छिन्, ‘हिजोआज त भालुबाट जोगिन बन्दुक नै राख्नुपर्छ, किनभने कुनै पनि बेला भालु गाउँ पस्न सक्छन्। जबकि केही वर्षअघिसम्म पनि मान्छेका गाउँछेउछाउ भालु आक्कलझुक्कल मात्र देखिन्थे।

प्रतिक्रिया दिनुहोस्