दुबईमा बन्दैछ विश्वको सबैभन्दा ठूलो सोलार पार्क



दुबई : युएई (संयुक्त अरब इमिरेट्स) ले दुबईको मरुस्थलमा विश्वकै सबैभन्दा ठूलो सोलार पार्क बनाइरहेको छ। १३ अर्ब ६० करोड अमेरिकी डलर लागतमा निर्माण भइरहेको पार्कको नाम प्रधानमन्त्री मोहम्मद बिन रासिद अल मकतुमको नाममा राखिनेछ।

यो पार्कमा सौर्य शक्तिबाट उत्पादन हुने बिजुलीले १३ लाख घर उज्यालो पार्न सक्नेछ। विश्वको बढ्दो तापक्रम मत्थर पार्न यो प्रभावकारी हुने बताइएको छ।

यहाँ उत्पादन हुने सौर्य ऊर्जाका कारण विश्वमा कार्बन उत्सर्जन बर्सेनि ६५ लाख टन कम हुनेछ। यसको निर्माण सन् २०३० सम्म पूरा गर्ने युएईको योजना छ। यो पार्कले ५ हजार मेगावाट बिजुली उत्पादन गर्नेछ।

अहिले भने विश्वको सबैभन्दा ठूलो सौर्य ऊर्जा पार्क चीनमा छ। चीनको निङसीयास्थित टेंगर डेजर्ट सोलार पार्कले १५ सय ४७ मेगावाट बिजुली उत्पादन गर्छ।

दुबईको सोलार पार्कका केही विशेषता यस्ता छन–

–सन् २०१२ मा पार्क निर्माणको घोषणा भएको थियो। यसको निर्माता दुबई एनर्जी एन्ड वाटर अथारिटी (डिइडब्ल्युए)का अनुसार पार्क बनाउन विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा बनाउनभन्दा ३  गुणा धेरै समय लाग्नेछ।

–सौर्य ऊर्जा पार्कको पहिलो र दोस्रो चरणको निर्माण सकिएको छ। त्यसमा २३ लाख फोटोभोल्टिक सोलार सेलको उपयोग गरिएको छ। यसबाट २ सय १३ मेगावाट बिजुली उत्पादन हुनेछ। तेस्रो चरणको निर्माण भइरहेको छ। तेस्रो चरणमा ३० लाख फोटोभोल्टिक सेल उपयोग हुनेछन्। तेस्रो चरणबाट ८ सय मेगावाट बिजुली उत्पादन हुनेछ। चौथो चरणको निर्माण सकिएपछि त्यसबाट १९ सय ६३ मेगावाट बिजुली उत्पादन हुनेछ।

–डिइडब्ल्युका अनुसार अहिले भने परियोजनाका ४ चरण पूरा गरिनेछ। निर्माणका आधारभूत संरचना तयार भइसकेको छ। यो विश्वको सबैभन्दा लामो सोलर प्लान्ट बन्नेछ। यसको टावर २ सय ६० मिटर अग्लो हुनेछ। यसमा बिजुली उत्पादनका लागि सिसाको उपयोग गरिनेछ।

–इम्पेरियल कलेज अफ लन्डनका प्रोफेसर क्रिस्टोज मर्काइड्सको भनाइमा प्लान्टमा एनर्जीको भण्डारण ब्याट्रीमा नभएर हिट (थर्मल एनर्जी–उष्मा) का रूपमा गरिनेछ। बिजुलीका तुलनामा थर्मल एनर्जी भण्डारण गर्दा लागत १० गुणा सस्तो हुन्छ। घामै नलागे पनि पार्कमा बिजुली उत्पादन भइरहनेछ।

–सोलार पार्कले सन् २०३० सम्ममा ५ हजार मेगावाट बिजुली उत्पादन गर्न थाल्नेछ। भारतको लद्दाखस्थित सोलार पार्कले ३ हजार बिजुली उत्पादन गर्नेछ । लद्दाखको पार्क सन् २०२३ सम्ममा निर्माण भइसक्नेछ।

–मरुभूमिमा निर्माण भइरहेको पार्कको सबैभन्दा ठूलो समस्या नै बालुवा भएको छ। यसका मोड्युल्समा बालुवा थुप्रिँदा पार्कको बिजुली उत्पादन क्षमतामा असर पर्छ। तर यसको समाधान पनि पार्कले निकालेको छ। प्लान्टमा थुप्रिएको बालुवा पार्कले ड्राई रोबोटिक क्लिनिङ प्रणाली उपयोग गरी सफा गर्नेछ। 

प्रतिक्रिया दिनुहोस्