मुलुकी संहिताकाे विराेधमा यातायात बन्द



काठमाडौं : सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हडताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन ।

 

नयाँ मुलुकी संहितामा सजायँकाे कतिपय व्यवस्थामा विरोध गर्दै यातायात मजदुरहरु हड्तालमा उत्रिएका हुन् । तर, यो आन्दोलनको जिम्मेवारी औपचारिकरुपमा कसैले पनि लिएको छैन ।

 

कास्कीको पोखरामा कालो नम्बर प्लेटका बसहरू यातायात मजदुरहरूले चल्न दिएका छैनन् । गाडी नपाउँदा यात्रुहरु बसपार्कमा अलपत्र परेका छन् । हरियो नम्बर प्लेटका पर्यटक बसहरु भने चलिरहेका छन् ।

 

दाङमा यायातात समितिको टिकट काउन्टर खुलेपनि यातायात व्यवसायीले चलानी काटेका छैनन् । अधिकांशले आफ्ना गाडीहरु घरमा र ग्यारेजमा थन्काएका छन् । गन्तव्यमा जान चाहने यात्रुहरु बसपार्क क्षेत्रमा अलपत्र परेका छन् ।

 

सधैं व्यस्त रहने पूर्वपश्चिम राजमार्ग अन्तर्गतको दाङ खण्ड सुनसान छ । यातायात मजदुरहरुले भालुबाङमा गाडीहरुलाई रोक्ने गरेको स्थानीय बताउँछन् ।

 

तर, प्रहरी प्रशासनले गाडी सञ्चालनमा कुनै पहल नगरेको पत्रकार दशरथ घिमिरेले बताए । ‘गाडी नचलेको तीन दिन भइसक्यो तर स्थानीय प्रशासनले अहिलेसम्म कसैसँग छलफल, वार्ता गरेर गाडी चलाउने पहल गरेको छैन,’ घिमिरेले भने ।

प्रतिक्रिया दिनुहोस्