बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि



काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिकास्थित जंगलमा विभत्स अवस्थामा भेटीएकी स्थानीय १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।
जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट उनको बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो ।
सुदुर पश्चिम प्रदेश प्रहरी प्रवक्ता मुकेशकुमार सिंहले पोष्टमार्टम रिपोर्टमा भट्टको बलात्कारपछि हत्या भएको देखिएको जानकारी दिए । उनका अनुसार मृतक किशोरीको भेजिनल स्वाब थप परिक्षणका लागि काठमाडौँ पठाइएको छ ।
यसले बलात्कार एकल थियो की सामूहिक थियो भन्नेबारे टुंगो लगाउने छ । यसैगरि बलात्कारमा संलग्नको डीएनएको पहिचान पनि भेजिनल स्वाबको परीक्षणबाट हुनेछ । प्रहरीका अनुसार भागरथीको बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको थियो ।
बुधबार घरबाट विद्यालय गएकी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको शव बिहीबार बेलुका स्थानीय लवलेक जंगलमा विभत्स अवस्थामा फेला परेको थियो । भागरथी विद्यालय जाने–आउने सडकखण्डको करिब ५० मिटर बाहिर जङ्गल क्षेत्रमा उनको शव भेटिएको थियो ।
शरीरका विभिन्न भागमा लागेका चोट र यौनाङ्गमा देखिएको घाउ लगायत कारणले प्रहरीले बलात्कारपछि हत्या भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको थियो । घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।
भागरथीका बुबाको डेढ महिनाअघि मात्र मृत्यु भएको थियो । त्यसयता आमा र उनी मात्र घरमा थिए । दुई जना दिदीको विवाह भइसकेको छ भने दाजु भारतमा छन् ।
भागरथी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । प्रहरीले घटनास्थलको छेवैको सडक भएर गुड्ने सवारी साधन, विद्यालयका शिक्षक, साथी, आफन्तहरुसँग घटनाबारे सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्