वीरगन्जमा भोजपुरी प्रतिष्ठान गठन



वीरगन्ज । भोजपुरी भाषाको संरक्षण, संवद्र्धन र विकासका लागि वीरगन्ज महानगरपालिकाले भोजपुरी प्रतिष्ठान गठन गरेको छ । महानगरले प्रष्ठिानको गठनसँगै वीरगन्जमै प्रतिष्ठानको भवन निर्माण पनि थालेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ८ रेल्वे रोडस्थित रात्रि मावि नजिकै निर्माण गर्न लागिएको भोजपुरी प्रतिष्ठान भवनको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्धी र महानगर प्रमुुख विजय सरावगीले संयुक्त रुपमा भवनको शिलान्याश गरे ।
अन्तर्राष्ट्रिय माृतभाषा दिवसको अवसर पारेर आइतबार प्रष्ठिानको भवन निर्माणको शिलान्याश गरिएको हो । महानगरपालिकाले उपलब्ध गराएको करिब डेढ कठ्ठा जग्गामा प्रतिष्ठानको सुविधासम्पन्न भवन निर्माण थालिएको हो ।
यसका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरिसकेको नगरप्रमुख सरावगीले जानकारी गराए ।
प्रतिष्ठानको भवन निर्माणका लागि अपुग आवश्यक रकम प्रदेश सरकारले दिने उनले बताए । छिट्टै महानगरको सरकारी कामकाजको भाषा पनि भोजपुरी भाषालाई नै बनाउने तयारी भइरहेको जानकारी पनि उनले दिए ।
प्रतिष्ठानका संरक्षकसमेत रहेका सरावगीका अनुसार, प्रतिष्ठानले भोजपुरी भाषाका भीष्मपितामह स्वर्गीय पण्डित दीप नारायण मिश्रको स्मृतिमा नगद १ लाख राशीको पण्डित दिपनारायण मिश्र अन्र्तराष्ट्रिय पुरस्कार हरेक २ वर्ष भित्रमा एक जनालाइ प्रदान गर्नेछ ।
यस्तै हरेक वर्ष नगद ५० हजार राशीको राष्ट्रिय भोजपुरी पुरस्कार र नगद ५१ हजार राशीको भोजपुरी लोकरंग पुरस्कार पनि एक एक जनालाई प्रदान गरिने सरावगीले जानकारी गराए ।
शिलान्याश समारोहमा बोल्दै मुख्यमन्त्री राउतले वीरगन्जमा निर्माण थालिएको भोजपुरी प्रतिष्ठानको भवन निर्माणमा लाग्ने सबै खर्च प्रदेश सरकारले उपलब्ध गराउने घोषणा गरे ।
उनले अहिलेसम्म सरकारी प्राथमिकतामा नपरेका कारण नै भोजपुरी भाषा ओझेलमा परेको बताए । भोजपुरी भाषीले हिनताबोध त्यागेर देशी एंव विदेशी मन्चमा आफनै मातृ भाषा भोजपुरीमा आफना धारणा र विचार राख्न सके यो भाषाको विकास र विस्तार कसैले पनि रोक्न नसक्ने उनको भनाइ थियो। भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदीले वीरगन्ज भोजपुरी भाषा, साहित्य र संस्कृतिको राजधानी भएको बताए ।
महानगरले गठन गरेको प्रतिष्ठानको अध्यक्षमा उमाशंकर द्विवेदी तथा सदस्यमा गणेश लाठ, अनिता साह, डाक्टर रक्षा झा, कामेश्वर चौरसीया, अजमद अली अन्सारी, रितु राज, रितेश त्रिपाठी, मौसमी कुशवाहा र अशोक कुशवाहा छन् ।

प्रतिक्रिया दिनुहोस्