एसियाकै सर्वाधिक मोटी महिलाको शल्यक्रिया, २१४ किलो वजन घट्यो



मुम्बई : एसियाकै सर्वाधिक मोटी महिलाको शल्यक्रिया गरी वजन घटाइएको छ।

३ सय किलो अर्थात् ३ क्विन्टल शारीरिक वजन भएकी अमिता राजानीे शल्यक्रियापछि ८६ किलोकी भएकी छन्।

मुम्बईस्थित लिलावती अस्पताल र हिन्दुजा हेल्थकेयर सर्जिकल अस्पतालको लेप्रो ओबेसो सेन्टर संस्थापक डा.शशांक शाहले ४ वर्षयता अमिताको दुईपल्ट शल्यक्रिया गरी वजन घटाइएको हो।

शल्यक्रियाबाट अमिताको २ सय १४ किलो वजन घटाउन सफल भएका चिकित्सकहरूले यो सफलतालाई भारतकै लिम्का बुक अफ रेकर्डसमा दर्ता गर्न प्रक्रिया थालेका छन्।

‘उनलाई सुपर मर्बिड ओबेसिटीसहित कोलस्टेरोल, निष्क्रिय मिर्गौला, टाइप–२ मधुमेह र सास फेर्नै कठिनाइलगायत कैयौं रोग लागेका थिए’, अमिताको बेरियाट्रिक सर्जरी गर्ने २० डाक्टरहरूको नेतृत्व गरेका डा.शाहले भने, ‘सन् २०१५ मा उनको पहिलो मेटाबोलिक सर्जरी गरियो। त्यसबाट वजन केही घटेकाले उनी आफैं हिँडडुल गर्न सक्ने भइन्। अनि सन् २०१७ मा उनको दोस्रो शल्यक्रिया गरियो– ग्यास्ट्रिक बाइपास।’

डा.शाहका अनुसार पहिलो शल्यक्रियाअघि अमिताको वजन ३ सय किलो थियो। दोस्रो शल्यक्रिया गर्दा उनको शारीरिक तौल १ सय ४० किलो थियो।

अमिताको वजन घटाउने पहिलो शल्यक्रिया गर्न करिब आधा घन्टा लागेको थियो। शल्यक्रियामा ४ जना सहायक सर्जन, २ जना एनेस्थेटिस्ट, २ जना नर्स, ८ जना वार्ड ब्वाई, फिजिसियन, चेस्ट फिजिसियन, एक जना आइसियूका डाक्टर र एक जना मिर्गौला विशेषज्ञ सामेल थिए।

तर दोस्रो शल्यक्रियाका बेला भने अमिताको वजन करिब डेढ सय किलो घटिसकेकाले त्यति धेरै चिकित्सकको आवश्यकता परेन। शल्यक्रिया गर्न भने ४५ मिनेट लाग्यो।

डा.शाहले एक दशकअघि एक जना यस्तै मोटा बेलायतीको वजन घटाउने शल्यक्रिया गरिसकेकाले अमिताको अपरेसनमा कुनै कठिनाइ नभएको बताए। ती बेलायतीको वजन ३ सय १० किलो थियो।

‘बिस्तरामै सीमित मेरो जिन्दगी अब स्वतन्त्र भएको छ’, २ सय १४ किलो वजन घटेपछि अमिताले भनिन्, ‘बल्ल मैले आफूलाई मनपर्ने कपडा लगाउन र एक्लै घुमफिर गर्न पाएँ।’

आमा ममताका अनुसार ३ क्विन्टल वजन हुँदा अमिताले आफैं भोजनसमेत गर्न सक्दिनथिन्।

प्रतिक्रिया दिनुहोस्