वाग्मती तीर्थयात्रा शुरु



काठमाडौं : कटुवालदहबाट वाग्मती नदीको उद्गमस्थल वाग्द्वारसम्मका १६५ तीर्थमा स्नान तथा पूजा गरी मनाइने वाग्मती तीर्थ यात्रा आज बिहानदेखि शुरु भएको छ । पशुपति मन्दिरमा विशेष पूजासहित परिसरमा कन्याकुमारी पूजा, आगम घरमा हवनसहित विशेष पूजा गरी यात्रा शुरु भएको हो ।

कोषका सदस्य सचिव डा प्रदीप ढकालले यात्राको पूजा सङ्कल्प गरेका थिए । नाथका मूल पूजारी रावल गणेश भट्टले विशेष पूजासहितको सङ्कल्प गराएका थिए । पशुपति मन्दिर परिसरबाट शुरु भएको यात्रा कार्यविनायक मन्दिरमा विशेष पूजा, स्नानसहितको सङ्कल्प सकेर कटुवाल दहतर्फ अघि बढेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताए ।

सवारी चल्ने स्थलमा सवारीबाट र नचल्ने स्थानमा पैदलै हिँडेर यात्रा पूरा गरिने छ । नेमुनिले चलाएको विश्वास गरिने वाग्मती तीर्थयात्रा ४० वर्षसम्म रोकिएको थियो । नदी प्रदूषणका कारण रोकिएको यात्रा गत वर्षदेखि कोषको सक्रियतामा शुरु भएको हो । 

यात्राले नदी किनारका तीर्थलाई प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । जेठ ४ गते पशुपतिनाथ मन्दिर परिसरमै आएर यात्रा समापन गरिने छ । यात्रामा आगम घरका पूजारी मदन भट्टले धार्मिक विधिका काम गर्नेछन् । 

४० वर्ष अघिको यात्रामा समेत सहभागी भएका भट्टले नयाँ पुस्तालाई तीर्थ यात्राको विधि सिकाएर हस्तान्तरण गर्नुहुनेछ । यात्राका कारण विभिन्न स्थानमा वाग्मतीमन्त्र साधना समेत हुनेछ । यो यात्रा वाग्मती सभ्यताको पुराना परम्परा हो । प्रदूषित बन्दै गएको नदीले किनारका तीर्थलाई ओझेलमा पारेकाले त्यसको महत्व नयाँ पुस्तालाई बुझाउन सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्