पशुपतिनाथको २३१ रोपनी जग्गा कसले खायो ?



काठमाडौं : भनिन्छ– पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन ।

वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानबिन समितिले गरेको छ ।

श्रीपशुपतिनाथ अमालकोट कचहरी श्रीपशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको असुली लगतको अभिलेखअनुसार पशुपतिनाथको नाममा रहेको दुई सय ३१ रोपनी १० आना जग्गा गायब पारिएको छ । पशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले अर्बाैं रुपैयाँ पर्ने जग्गा हराएको प्रतिवेदन तयार पारेको छ । कोष सञ्चालक परिषद्का कोषाध्यक्ष एवम् समितिका संयोजक डा. मिलनकुमार थापाले पशुपतिनाथको नाममा रहेका अझै धेरै जग्गा गायब पारिएको हुन सक्ने बताए । 

त्यसपछि कोषका परिषद् सदस्य नवलकिशोर चौधरीको संयोजकत्वमा जग्गा छानबिनका लागि समिति बन्यो । त्यो समितिले पनि प्रतिवेदन तयार पार्न सकेन । परिषद् सदस्य रमेशराज सिवाकोटी, मालपोत विभागका महानिर्देशक, नापी विभागका महानिर्देशकलगायत राखेर कोषाध्यक्ष थापाको संयोजकत्वमा तेस्रोपटक गठित समितिले भने प्रतिवेदन तयार पारेको छ ।

‘अमालकोट कचहरीको ६ रोपनी १२ आना, जयबागेश्वरी भण्डार तहबिलको ११ रोपनी ७ आना र भण्डार तहबिलको दुई सय १३ रोपनी ७ आना जग्गा हराएको छ’, थापाले अन्नपूर्णसँग भने । भण्डार तहबिलको विवरणअनुसार लगत नम्बर २४९ को चन्द्रशमशेर मोही भएको ६ रोपनी ४ आना जग्गा हराएको छ । काठमाडौं बौद्ध–६ स्थित पूर्वप्रधानमन्त्री चन्द्रशमशेर मोही रहेको यो जग्गा उनका सन्तानले हडपेर खाएको पाइएको छ । लगत नम्बर ९२४ मा देखिने डा. रघुवीर वैद्यको बौद्धकै कित्ता नम्बर ४८ को २९ रोपनी ४ आना २ पैसा २ दाम जग्गा गायब छ । यो जग्गा कित्ताकाट भइसकेको छ तर साबिकको लगत भने काटिएको छैन ।

लगत नम्बर ४५७ मा समरबहादुर थापा क्षेत्रीको भक्तपुर जिल्लामा रहेको मौजे शारदा १४ अन्तर्गतको कित्ता नम्बर २६९ को १ रोपनी १० आना भेटिएको छैन । ‘साबिक मौजा भिडाउँदा २०२१ सालको सबै नापीमा यो जग्गा कुन कित्ता, कुन गाविसको कति वडामा पर्छ खुलेको देखिँदैन’, कोषका सब सहायक वासुदेव रिमाल भन्छन्, ‘लगत नम्बर ६५० मा रिपुमर्दन थापाको सदाबर्तबाट मार्सी फलुवा चामल तिर्नुपर्ने भनिएको जग्गा पनि भेटिएको छैन ।

थापाको सदाबर्त कसले सञ्चालन गरेको छ खोजबिनसम्म भएको देखिएन ।’ प्रतिवेदनले यस विषयमा खोजबिन आवश्यक रहेको सुझाव दिएको छ । गुठी संस्थानले पनि सदाबर्तबारे विस्तृत विवरण दिन सकेको छैन ।

हालसम्म पशुपतिनाथको जग्गा र सम्पत्तिको खोजबिन गर्न तीनवटा समिति बनिसकेका छन् । संस्कृति मन्त्रालयका तत्कालीन सचिव जलकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति बनाइएको थियो । त्यो समितिले पशुपतिको जग्गाको खोजबिन गरी प्रतिवदेन बाहिर ल्याउन सकेन । याे समाचार अन्नपूर्ण पाेस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्