देशभित्र र बाहिरबाट अनेक षडयन्त्र : प्रचण्ड



काठमाडौं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र बाहिरबाट अनेक षडयन्त्र भएको बताएका छन् । अध्यक्ष प्रचण्डले नेपाली जनतालाई फेरि विभेद र अपमान गर्ने षडयन्त्र भइरहेको बताउँदै आफूहरू त्यसविरुद्ध लडिरहेको उल्लेख गरे ।
कम्युनिष्ट एकता आवश्यक भएको भन्दै समाजवादको निर्माण गरेर सबैलाई विकासको फल दिने ऐतिहासिक अवसर आफ्नै प्रस्ताव भएको उनले दाबी गरे । कम्युनिष्ट एकता पनि आफ्नै पहलमा भएको उनले जिकिर गरे ।
मंगलबार रुकुमको सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्बोधन गर्दै जनयुद्ध र यसको उपलब्धि उल्ट्याउन जाली फटहाहरू लागि परेको भन्दै प्रचण्डले संसद् विघटन प्रतिक्रान्तिको सुरुवात भएको तर्क गरे ।
अबको लडाइँ प्रतिक्रियावादविरुद्ध हतियारबिनाको नयाँ युद्ध भएको पनि उनको भनाइ थियो । रक्तपातको लडाइँ नभएको र हिंसामा आफू नगए पनि यो नयाँ जनयुद्धको सुरुवात भएको उनले बताए ।
झण्डै सवा दुई महिना यो आन्दोलन चलाउन पर्दा आफूलाई थोरै शंका लागे पनि व्यवहारमा देशभर जाँदा जनता प्रतिगमनविरुद्ध आफ्नो पार्टीलाई साथ दिन तयार रहेको पाएको उनले बताए । जसका कारण संविधान बचेको पनि उनले बताए । तर उपलब्धिमाथि प्रहार गर्ने षड्यन्त्र अझै जारी रहेको उनले बताए ।
उनले भने, ‘अब प्रचण्डले केही गर्न सक्दैनन् यो संविधान उल्टाइदिएहुन्छ भन्ने केही केही मान्छेले सोचेका छन् म ती मान्छेलाई भन्छु, मसँग क्रान्तिकारी जनताको साथ छ भन्छु ।’ जनताको तागतबाहेक कसैले प्रतिगमनलाई परास्त गर्न नसक्ने पनि उनले बताए ।
प्रचण्डले कर्णाली प्रदेश टिकाउनका लागि आफूले अन्तिम समयसम्म प्रयत्न गर्ने बताए । अध्यक्ष प्रचण्डले कर्णाली प्रदेश सरकारबारे आफूहरु अहिले पनि छलफलमै रहेको बताए ।
‘कर्णाली प्रदेशमा हाम्रो सरकार थियो, हाम्रो सरकारका विरुद्ध अन्तिम रुपमा त्यसलाई अपदस्त गर्ने प्रोसेस भएको छ’, प्रचण्डले भने, ‘म आफै पनि लागिरहेको छु, सकेसम्म हाम्रो नेतृत्वको सरकार बचोस् । हामी अहिले पनि छलफलमा छौँ ।’
उनले प्रदेश सरकार अपदस्त भयो भने पनि प्रमुख प्रतिपक्षमा बसेर जनतामा जाने र फेरि सत्तामा आउने बताए ।
आफूलाई जस्तोसुकै सहयोग गर्ने साथीहरू ओझेलमा परेका पनि उनले बताए । रामबहादुर थापालाई गृहमन्त्री बनाएकोमा उनले आफूलाई गल्ती गरेको महसुस भएको समेत बताए । उनले थापालाई ‘बिकाउ माल’ को संज्ञा दिए । प्रचण्डले आफूमाथि बम प्रहार गर्ने रामबहादुर थापालाई गृहमन्त्री र केही पनि आधार नभएका मणि थापालाई स्थायी समितिमा लैजानु गल्ती भएको उल्लेख गरे ।
‘म माथि बम हान्नेलाई गृहमन्त्री बनाएँ, केही पनि आधार नभएकालाई स्थायी समिति बनाएँ । गल्ती त भएकै हो’, प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्