इन्जिनीयर पतिले टुप्पी नकाटेपछि पत्नीले दिइन् डिभोर्सको निवेदन !



एजेन्सी: भारतको मध्य प्रदेशमा एक ब्राह्मण परिवारका पुरुषले शिखा (टुप्पी) पाल्दा परिवार नै टुट्ने स्थितिमा पुगेको छ । उक्त व्यक्तिकी पत्नीले फ्यामिली कोर्टमा डिभोर्सका लागि निवेदन दिएकी छन् । टुप्पी पालेका कारण पति गँवार देखिएको आरोप पत्नीको छ ।

टुप्पीवाल पतिका कारण माइतीमा आफ्नो बेइज्जती भएको पत्नीको भनाइ छ । उता पति भने नमरुन्जेल टुप्पी पाल्ने बताइरहेका छन् । यो घटनालाई फ्यामिली कोर्टले परामर्शका लागि पठाएको छ । 

बिहे भएको तीन वर्षपछि पत्नीले डिभोर्सको निवेदन दिएकी हुन् । अदालती परामर्शमा पति र पत्नीबीचको झगडाको कारण पतिको टुप्पी रहेको पाइयो । एक्जेक्युटिभ इन्जिनीयर जस्तो मान्छेले टुप्पी पाल्दा पटक्कै नसुहाएको तर्क पत्नीले राखेकी छन् । उनी आफूले चाहिँ एमबीए गरेकी छन् । 

परामर्शदात्री रिता राजानीले बताएअनुसार, महिलाको बिहे सन् २०१६ को फेब्रुअरी २ मा भएको थियो । बिहेको केही महिना राम्रै बित्यो । दुई वर्षअघि महिलाका सासू र ससुरा सडक दुर्घटनामा मारिए । मृत्यु संस्कारका बेलामा पतिको कपाल मुण्डन गरियो । त्यसपछि पतिले धार्मिक मान्यता अनुसार टुप्पी राखे । 

पछि पतिले टुप्पी राखिरहेपछि पत्नीले काट्न भनिन् । तर उनले मानेनन् । महिलाले परामर्शदातालाई बताएअनुसार पतिलाई टुप्पी काट्नुस् भन्दा टारिरहन्छन् । टुप्पी राख्दा सबैले पतिलाई पण्डितजी भन्न थाले । अनि उनीहरूबीच झगडा हुन थाल्यो । 

पतिले शिखा नकाट्ने जिद्दी लिएको महिलाको भनाइ छ । पति चाहिँ आफूले पत्नीलाई सबै सुख दिएको तैपनि उनी टुप्पीलाई देखिसहन्नन् भनी रिसाइरहेका छन् । 

टुप्पीकै कारण पत्नी ६ महिनादेखि माइत बसेकी छन् । पत्नीले कि त टुप्पी काट, कि त डिभोर्स देऊ भनिरहेकी छन् । 

पतिले चाहिँ आमाबुवाको मृत्युपछि टुप्पी पाल्ने संकल्प आफूले लिएको बताएका छन् । धार्मिक मान्यता नै यही रहेको उनको भनाइ छ । आमाबुवाको एक्लो छोरा भएकाले सबै धार्मिक मान्यता आफूले मान्ने उनी बताउँछन् । यसले आफूलाई सुख दिने उनको भनाइ छ । 

पति र पत्नी एकअर्काको कुरा पनि सुन्न चाहँदैनन् । अहिलेसम्म उनीहरूको सन्तान भएको छैन । उनीहरूलाई अर्को चरणको परामर्श दिइएको छ । अदालतले परामर्शमार्फत सम्झौता हुने आशा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्