देउवाले सांसदहरूलाई भने‘संघर्षमा जान तयार रहनुहोला’



काठमाडाैं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानका प्रावधानविपरीत सरकारले तीन विधेयक ल्याएको भन्दै फिर्ता नगरे प्रतिवाद गर्ने चेतावनी दिएको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐन–०६८ लाई संशोधन गर्न बनेको विधेयक र राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य तथा अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–०७५ लाई कांग्रेसले संविधानको प्रावधानविपरीत भनेको छ । 

सभापति शेरबहादुर देउवाले सांसदहरूलाई संघर्षमा जान तयार रहन निर्देशन दिएका छन् । 

के भने देउवाले ?

वर्तमान सरकार संविधानले परिकल्पना गरेभन्दा विपरीत बाटोमा हिँड्ने कोसिसमा छ । बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार तथा स्वतन्त्र, निष्पक्ष एवं सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणाविपरीत काम गरिरहेको छ ।

संविधानको पालना र रक्षा गर्ने मूल दायित्वबाट सरकार पन्छिन खोजिरहेको छ । बाटो बिराएको सरकारलाई सही बाटोमा फर्काउन जस्तोसुकै लडाइँ लड्नुपरे पनि हामी तयार हुनुपर्छ । संसद्मा संविधानको प्रावधानविपरीत दर्ता भएका तीन विधेयक फिर्ता गर्न नमाने सबैखालका लडाइँमा जान शारीरिक र मानसिक रूपमा तयार रहनुहोला । नया पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्