घरेलु रक्सीमा प्याड र पिसाब !



दाङ : दाङमा उत्पादन हुने घरेलु मदिरा (रक्सी)मा महिलाले महिनावारी हुँदा प्रयोग गरिएका प्याड र पिसाब प्रयोग हुने गरेको पाइएको छ । दाङमा घरेलु रक्सी बनाउनेहरुले अन्नसँगै महिलाले महिनावारीका बेला प्रयोग गर्ने प्याड, पुराना बोरा, जुत्ताचप्पल र पिसाबको प्रयोग गर्ने गरेको भेटिएको हो । सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मदिरा नियन्त्रण अभियानमा यस्तो अवस्था भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास संस्था, महिला र प्रहरीको संयुक्त सहभागितामा भएको अनुगमनमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा भेटिएको घरेलु रक्सीमा यस्ता चिज प्रयोग भएको पाइएको स्थानयी हेमराज शर्माले बताए ।

रक्सीका कारण समाजका झैझगडादेखि विभिन्न असामाजिक क्रियाकपाल भइरहेको ठहर गर्दै थालिएको समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडाका विभिन्न टोलबाट जफत गरिएको घरेलु रक्सीमा त्यस्ता वस्तु भेटिएको र घरेलु रक्सी हानिकारक भएको भेटिएको प्रहरीले बताएको छ ।

‘यो अभियान थाल्ने बेलामा हामीले कल्पना नगरेका वस्तुहरु रक्सी बनाउन प्रयोग गरिएको भेटियो, प्रहरी चौकी गोग्लीका इञ्चार्ज विष्णुबहादुर बुढाथोकीले भने, ‘भन्न पनि लाज लाग्छ । प्याड, प्याज राखेका पुराना बोरा, फाटेका जुत्ता चप्पल र मानिसको पिसाबसमेत घरेलु मदिरा बनाउदा प्रयोग गरेको भेटियो ।’

स्थानीय स्तरमा उत्पादन हुने रक्सीमा विषाक्त पदार्थहरुको प्रयोग गरेको पाइएपछि रक्सीलाई नष्ट गरिएको बताइएको छ । अन्नपूर्ण पाेस्टबाट ।

प्रतिक्रिया दिनुहोस्