सगरमाथामा रग्बी खेल्दा बन्यो विश्व कीर्तिमान



लन्डन : नेपालमा धेरै खेल खेलिए पनि रग्बी भने खासै खेलिँदैन। यस्तोमा कसैले सगरमाथामा रग्बी म्याच भयो भन्दा आश्चर्य लाग्नु अस्वाभाविक नहोला। तर यो यथार्थ हो।

बेलायती समाजसेवी संस्था उडन स्पुनले सगरमाथाको ६ हजार ३ सय ३१ मिटर (२० हजार ७७१ फिट) उचाइमा रग्बी खेलाएर विश्व कीर्तिमान बनाएको छ। खेलमा विश्वभरिबाट रग्बीका पूर्वखेलाडीले भाग लिएका थिए।

सगरमाथाको एडभान्स्ड बेस क्याम्पनजिक इस्ट रोंकबुक ग्लेसियरमा खेल भएको थियो। खेल आयोजनाबाट अढाइ लाख बेलायती पाउन्ड (३ करोड ६५ लाख रुपैयाँ) भन्दा बढी जुटाएको छ। रकम विकलांग बालबालिकाको रेखदेखमा खर्च गरिनेछ।

रग्बीका दुई टोलीमा ७÷७ खेलाडी थिए। एउटा टोलीका कप्तान विलियम्सले त्यति उचाइमा खेल्नु साह्रै सकस भएको बताए। खेलमा एकपटक दौडँदा उनीहरूलाई आराम गर्न करिब १० मिनेट लागेको थियो।

खेल भइरहँदा केही खेलाडीलाई रिंगटा लागेको, सास फेर्न असजिलो भएको थियो। केही त बिरामी नै भए। खेल गिनिज बुक अर्फ वल्र्ड रेकर्ड्समा सामेल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्