विश्वको पहिलो नास्तिकले पाए प्रमाणपत्र



पानीपत (भारत) : भारतीय राज्य हरियाणाको टोहानाका बासिन्दा रवि कुमार विश्वकै पहिलो नास्तिक भएका छन्। अब उनलाई रवि नास्तिकको नामबाट चिनिनेछ।

उनलाई जिल्ला तहसिल कार्यालयले ‘नो कास्ट, नो रिलिजन, नो गड’ को प्रमाणपत्र नै दिएको छ। प्रमाणपत्रमा क्रमसंख्या पनि उल्लेख छ। यो भारतकै मात्र नभएर विश्वकै पहिलो नास्तिक प्रमाणपत्र भन्न थालिएको छ। तर यसका लागि रविले २ वर्ष मुद्दा लड्नु प-यो।

खासमा यही नामका लागि सन् २०१७ मा रविले फतेहाबाद कोर्टमा दिवानी मुद्दा दायर गरेका थिए। तर अदालतले भने यस वर्ष जनवरीमा मात्र उनलाई नामसँग नास्तिक लेख्न अनुमति दियो। तहसिल कार्यालयले उनलाई ‘जाति, धर्म र भगवान नभएको व्यक्ति’ को प्रमाणपत्र जारी गरेको छ।

यसका लागि तहसिलका डिप्टी कमिस्नर धीरेन्द्र खडगटाले नै सबै कागजातको जाँचबुझ गरेका थिए। रविका वकिल अमितकुमार सैनीका अनुसार तहसिलले प्रमाणपत्र दिन नसक्ने भनेपछि डिप्टी कमिस्नरकहाँ आवेदन दिइएको थियो। सबै कागजात मात्र जाँचिएन, कुनै देशसँग उनको सम्बन्ध र कुनै आपराधिक रेकर्ड भए नभएकोसमेत जाँचबुझ गरियो। जाँचबुझबाट डिप्टी कमिस्नर सन्तुष्ट भएपछि उनलाई तहसिलले गत २९ अप्रिलमा नास्तिकको प्रमाणपत्र जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्