बानेश्वरको करोडौं मूल्यका सार्वजनिक जग्गा अतिक्रमण



काठमाडौं । सामाजिक संस्थाको नामबाट बानेश्वरको ११ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ । बानेश्वरस्थित भद्राकुमारी घले सेवा सदनको नामबाट झन्डै ११ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत फाइदाका लागि उपयोग गरेको पाइएको हो । सो संस्थाको भवन संस्थाको नाममा रहेको जग्गामा नभई खोलाको बगरमा बनाइएको छ ।

काठमाडौं महानगरपालिका–१० स्थित देवीनगरमा रहेको बानेश्वरको सिट नम्बर ११४६–०२ को कित्ता नम्बर १२, २२३, २२६, १३ र २२५ अन्तर्गतका करिब ११ रोपनी सार्वजनिक जग्गामा भद्रा घले सेवा सदनको नाममा जग्गा लिइएको स्थानमा विभिन्न टहरा, स्कुल सहकारी संस्था, पसल सञ्चालन भएकाले सो कार्य गैरकानुनी भएको पाइएको हो ।

सेवा सदनको नाममा बोर्ड राखी सो जग्गामा व्यक्तिगत बोर्डिङ र त्रिपक्षीय सहकारी संस्था, व्यक्तिगत गेस्ट हाउस तथा सटर पसल निर्माण गरी भाडामा लगाइएको पाइएकाले तत्काल हटाउन राष्ट्रिय सर्तकता केन्द्रको अध्ययन प्रतिवेदनले सरकारसमक्ष सिफारिस गरेको हो ।

सर्तकता केन्द्रले नापी अधिकृत गोविन्दप्रसाद कुइँकेल र शाखा अधिकृत कविता पन्थी रहेकोे दुई सदस्यीय छानबिन समिति गठन गरेर सो जग्गा अतिक्रमणबारे छानबिन गराएको थियो ।

समितिले गरेको छानबिनका क्रममा भद्रा घले सेवा सदनले काठमाडांै महानगरपालिका–१० देवीनगर सिट नम्बर ११०६–२१ अन्तर्गतको सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको निष्कर्ष निकालेको हो ।

नापी कार्यालयमा रहेको प्लट रजिस्टारबाट कित्ताकाट भई कित्ता नम्बर ९, कित्ता नम्बर १० दमयन्ती देवीका नाममा कायम भएको, कित्ता नम्बर ८ र कित्ता नम्बर ११ बगरको घुसेको भाग भनी कायम भएको देखिन्छ । १५ आना १ पैसा १ दाम रहेको कित्ता नम्बर ८ को बगर सरकारी जग्गामा हाल भद्राकुमारी घले सेवा सदनले ७ सटर बनाई प्रतिसटर ७ हजार रुपैयाँसम्ममा भाडामा लगाएको छ । समितिले सार्वजनिक जग्गा अतिक्रमणमा परेको भन्दै अतिक्रमण भएको जग्गामा बनेका संरचना तत्काल हटाउन सुझाव दिएको हो ।

मालपोत कार्यालयको रेकर्डअनुसार सिट नम्बर ११०६–२२ को कित्ता नम्बर २२३ अन्तर्गतका क्षेत्रफल १ रोपनी २ आना ३ पैसा बगर पनि भद्राकुमारी सेवा सदनले प्रयोग गरेको छ । सो कित्ताको पूर्वपट्टि ६ वटा सटर र पक्की घर बनाइएको छ । घरमा त्रिपक्षीय बचत तथा ऋण सहकारी संस्था, लाइब्रेरी, संग्रहालय र गृहिणी महिलाका लागि शिक्षा प्रदान गर्ने प्रयोजनका लागि सदनले नेत्र वैकल्पिक विद्यालय सञ्चालन गरेको छ ।

सोही कित्ताको पश्चिममा ज्येष्ठ नागरिक, एकल महिला र बेसहारा बालबालिकाको आश्रयस्थल बनाइएको सदनको भनाइ छ । सदनले एक विद्यालयसमेत सञ्चालन गरिरहेको छ । तर, विद्यालय भाडा नलिई अन्य व्यक्तिले सञ्चालन गरेको पाइएको छ ।

भद्राकुमारी घले सेवा सदन ३० वैशाख २०६२ को मितिमा जिल्ला प्रशासन कार्यालय काठमाडांैमा दर्ता भएको पाइन्छ । सदनको दर्ता नम्बर ५६३÷०६१÷६२ रहेको देखिएको छ । त्यस्तै, समाज कल्याण परिषद्मा ९ फागुन २०५९ मा आबद्ध भएको परिषद्को रेकर्डमा छ । सो जग्गा संस्थाको नाममा दर्ताका लागि १२ पुस २०६९ मा प्रधानमन्त्रीको निजी सचिवालयमा समेत निवेदन दर्ता भएको पाइएको छ । यसक्रममा मालपोत कार्यालय डिल्लीबजारबाट मिसिल खडा गरी सर्जमिन भई रोकिन गएको देखिन्छ । राजधानी दैनिकबाट ।

 

प्रतिक्रिया दिनुहोस्