नेपालको प्रहरी चौकीमा नेपालकै सांसदलाई भारतीयले ४ घण्टा घेराउ गरे



बाँकेको नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो।हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला प-यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो।

यो घटना शुक्रबार साढे चार बजेतिरको थियो । हाटमा आएका भारतीय पसले, किनमेल गर्न आएका र केही स्थानीयले विश्वकर्मा निर्दोष रहेको भन्दै प्रदर्शन शुरु गरे । सानो झुन्डबाट थालिएको प्रदर्शनले उग्ररुप लियो।

साँझ ६ बजेतिर प्रदेश सांसद कृष्णा केसी विकास निर्माणको अनुगमन गरेर फर्किने क्रममा नरैनापुरमा आइपुगेका थिए। प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका भारतीय र नेपालीले उनलाई घेरे । अहिले नै प्रहरी चौकी गएर विश्वकर्मालाई छुटाइदिन दबाबमूलक अनुरोध गरे । ‘के रहेछ भनेर बुझ्न’ उनी प्रहरीचौकी पुगे।

चरेशसहित पक्राउ परेका व्यक्तिलाई सांसदको भनसुनमा छोड्ने कुरै भएन। सांसद केसीले पनि छोडिदेऊ भन्ने कुरै भएन। निर्दोष छ भने प्रहरीले छोडिहाल्छ भनेर सांसद नेपालगञ्ज फर्किन गाडीमा चढे । धेरै भारतीय र केही नेपालीले उनलाई घेरे।

विश्वकर्मालाई नछोडेसम्म जान नदिने धम्की दिन थाले । गाडीको हावा फुस्काइदिए । पेट्रोल छर्केर आगो लगाउने सुरसार कसे।सांसद केसीलाई आपत् प¥यो । सँगै रहेका सशस्त्र र नेपाल प्रहरीले उनलाई सुरक्षित तरिकाले नरैनापुर गाउँपालिकाको कार्यालयमा ल्याए।

विश्वकर्मालाई छोड्न दबाब दिएको समूहले उग्ररुप देखाइसकेका थियो। प्रहरीको भ्यान, प्रहरीको मोटरसाइकल, वाकीटाकी तोडफोड गर्न थाले । चौकीमा ढुंगामुढा भयो । प्रहरीले राइफलबाट ६२ र पेस्तोलबाट एक राउन्ड हवाई फायर ग¥यो । अश्रुग्यास हानिरह्यो। यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

सांसद केसीको टोली गाउँपालिकाको कार्यालयमा प्रहरी घेरामा बस्यो। साँझ ६ देखि १० बजेसम्म सांसदको टोली प्रहरी घेरामा बस्यो । बाहिर निस्किए प्रदर्शनकारीले आक्रमण गर्ने वातावरण बनेको थियो।

४० किलोमिटर टाढा रहेको नेपालगन्ज र कोहलपुरबाट ठूलो संख्याका प्रहरी राति दश बजे पुगेपछि बल्ल सांसद केसीलाई नरैनापुरबाट उद्धार गरिएको थियो । उहाँ राति २ बजे नेपालगन्ज पुगे।

शनिबार नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै सांसद केसीले चार घण्टा उकुसमुकुसमा बिताएको बताए। ‘मलाई घेराबन्दी पारेपछि चरेशसहित समातिएका विश्वकर्मालाई छोडाउन सकिन्छ भन्ने उनीहरुको आशय देखिन्थ्यो’, सांसद केसीले भने– ‘आफ्नै देशमा भारतीय नागरिकको ठूलो संख्याले बन्धक बनाउँदा अत्यन्त दुःख लाग्यो।’

नरैनापुर जिल्लाको पूर्वी–दक्षिण सीमाना हो । विकासले समेत पछि परेको नरैनापुरमा सुरक्षाफौजको उपस्थिति पनि कमी छ । थोरै प्रहरीको फाइदा उठाएर भारतीय र नेपाली मिलेर चौकीमा पु-याएका विश्वकर्मालाई थुतेर लैजाने दुष्प्रयास गरेका थिए।

त्यहाँ रहेका प्रहरीको लगातार हवाई फायर र अश्रुग्याँस प्रहार तथा नेपालगन्जबाट रातारात ठूलो फौज पुगेपछि बल्ल उनीहरु तितरबितर भएका थिए।जोखिमबाट बचेकी सांसद केसीले जिल्लाका सुरक्षा अधिकारीलाई तुरुन्त नरैनापुरमा सुरक्षाफौज बढाउन सुझाव दिएकी छन्। 

नेपाल समाचार पत्र दैनिकले याे समाचार छापेकाे छ।

प्रतिक्रिया दिनुहोस्