हेलिकप्टर कुर्दाकुर्दै जान्छ ज्यान



पोखरा/गोरखा : गत ठीक एक साताअघि मुस्ताङस्थित ६ हजार तीन सय ४६ मिटर अग्लो हिमाल सारेबुङ आरोहण र सोही भेगको पदयात्राका लागि गएको टोलीका एक सदस्य इटालियन पदयात्री ६८ वर्षीय मार्काे रोकुफ्रान्कुफ्को मोरिलियोलाई ‘हाई अल्टिच्युड’ लाग्यो।

उनीसँगै टोलीमा रहेका दुई नेपाली गाइड पनि बिरामी परे। मनाङको नार–फू हुँदै मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ निस्कने क्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित सारेबुङको करिब ५८ सय मिटर उचाइमा उनीहरू बिरामी परेको पदयात्रा व्यवस्थापन गरिदिने नेपाल सेन्चुरी ट्रेक्सलाई थाहा भयो। बिहान पौने १० बजे नै मार्काेसहितका पदयात्री बिरामी परेको जानकारी नेपाल सेन्चुरी टे«क्सका प्रबन्ध निर्देशक तुलसी ज्ञवालीलाई पुगेको थियो। त्यसपछि उद्धारका लागि हेलिकोप्टर खोज्ने र उडान अनुमतिको प्रक्रिया सुरु गरियो।

अर्धनिषेधित क्षेत्र पर्ने मुस्ताङको सारेबुङ क्षेत्रमा हेलिकोप्टर उडाउन गृह मन्त्रालयको अनुमति चाहिन्छ। मार्को बिरामी परेको थाहा पाएलगत्तै उद्धारका लागि हेलिकोप्टर पठाउने प्रक्रिया बिहान बेलैमा सुरु गरियो। तर मन्त्रालयको प्रक्रिया पूरा हुँदा दिउँसो ३ बज्यो। अनि काठमाडौंबाट दिउँसो ३ बजे उडेको हेलिकोप्टर जोमसोम पुग्दा ४ बजेको थियो। तर तीव्रगतिको हावाले हेलिकोप्टर त्यो बेला उद्धारमा जान सकेन।

हावाले गर्दा उद्धारमा जान नसकेको हेलिकोप्टर बिहीबार जोमसोममै रोकियो। शुक्रबार बिहान जोमसोमबाट उडेको हेलिकोप्टर घटनास्थल पुग्दा मार्काेले ज्यान गुमाइसकेका थिए। बिरामी परेका दुई र मार्काेको शव बोकेर हेलिकोप्टर फर्कियो।

समाचार आजकाे नागरिक दैनकले छापेकाे छ।

प्रतिक्रिया दिनुहोस्