केनेडी विमानस्थलमा स्विमिङ पुलसहितको होटल



वासिङटन : स्विमिङ पुल र होटलसहितको अन्तर्राष्ट्रिय विमानस्थलबारे थाहा पाउनु भएको छ ? अमेरिकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलको एउटा टर्मिनलमा स्विमिङ पुलसहितको होटल टिडब्ल्युए निर्माण गरिएको छ।

निर्माण मात्र नभएर यही मे १५ बाट होटल सञ्चालनमा समेत आइसकेको छ । विमानहरू स्विमिङ पुल छेउमा पार्किङ गरिन्छ । होटल खुल्नुअघि नै सबै कोठा बुक भइसकेका थिए। होटल बनाइएको टर्मिनलमा सन् १९६२ मा टिडब्ल्युएको फ्लाइट सेन्टर थियो।

विख्यात आर्किटेक्ट इरो सारिनेनले डिजाइन गरेको होटल आधुनिक र प्राचीन शैलीमा निर्माण गरिएको छ। ५ सय १२ कोठा, भव्य स्विमिङ पुलसहित होटलको छतमा लाउन्ज पनि छ। डेट्रोइट घडीको बिकीकक्ष सिनोला, ५० हजार वर्गमिटरको विशाल बैठक कक्ष र २ सय जना अट्ने ओपन एयर रेस्टुँरा पनि छ। रेस्टुँरा विख्यात सेफ ज्याँ जर्ज बोगरिङटनले सञ्चालन गरेका छन् । ३३ सय ६० करोड रुपैयाँमा होटल निर्माण गरिएको हो। होटलमा बस्नेले स्विमिङ पुलछेउ पार्किङ गरिएका विमानको दृश्यावलोकन गर्न सक्छन्।

पर्यटन उद्योग विश्लेषक हेनरी हार्टेवेल्टका अनुसार अब विमानस्थलहरूमा धमाधम होटल बन्ने बताए। उनका अनुसार हिजोआज वायुसेवाका यात्रु कुनै होटलमा जाँदा विमानस्थलहरूलाई आम्दानी नहुने भएकाले हवाईअड्डामै होटल बन्न थालेका हुन्।

यसकै सिको गरेर अब सान फ्रान्सिस्को विमानस्थलमा पनि आगामी सेप्टेम्बरमा होटल ग्र्यान्ड हयात सञ्चालन हुँदै छ। यो पुरानो होटल हिल्टनको ठाउँमा बन्दै छ। हिल्टन होटल सन् १९९८ मा भत्काइएको थियो। ३ सय ५१ कोठा रहने हयातमा जिम, योग, स्टुडियो, स्पा र बारसमेत रहनेछन्।

प्रतिक्रिया दिनुहोस्