राष्ट्रियसभा सदस्य पाण्डेले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । राष्ट्रियसभा सदस्यमा विजयी दृगनारायण पाण्डेले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
लुम्बिनी प्रदेशअन्तर्गत रिक्त राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेलाई सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे गत जेठ १७ गते भएको उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट विजयी भएका थिए। पाण्डेले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।
पाण्डे एमाले प्रदेशसभा सांसद पदबाट राजीनामा दिएर विपक्षी गठबन्धनबाट राष्ट्रियसभामा उम्मेदवार बनेका हुन् भने खड्काले माओवादी छाडेर एमाले प्रवेश गरेका कारण कारबाहीपछि राष्ट्रियसभा सदस्य पद रिक्त भएको थियो ।
यसैबीच सपथ ग्रहणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारको लागि आफुले दह्रोगरी आवाज उठाउने बताए । देशको संघीयता, समावेशी र समानुपातिकतर्फ आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझै पनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत बुलन्द आवाज उठाउने उनले बताए । उनले नेपालको लोकतन्त्र र संविधान ओझेलमा देखिएको टिप्पणी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्